युवा जति विदेश, कसले बनाउँछ देश ?
३९ वर्षको हुँदा युरोप छिरेको थिएँ । ०५२ मा दौडिरहेको छु । मेरो काले चिम्रे भाञ्जो पनि २८ वर्ष लागेकै दिन दलाललाई २ लाख बुझाएर उसका लागि युरोपको भिसा प्रोसेस अगाडि बढाएँ । दुई महिना ७ दिनमा भिसा लाग्यो । हवाईजहाज उडेजसरी काले चिम्रेको मन बेलायततिर उड्यो । रंगिन युरोप कस्तो होला भनेर सोच्दै उनी हवाईजहाजमा ४ घण्टा निदाउन सकेँ भन्थे । उनीसँगै एक अधवैंसे युवती र लक्का जवान साथी राजेन्द्र पोखरेल पनि हिथ्रो एयरपोर्टमा उत्रिए । काममा भएका कारण लिन जान भ्याइन । अधबैंसे युवतीका श्रीमान् रिसिभ गर्न गएका थिए । रामजी पनि यसैगरी दुई वर्षअघि दलाल लगाएर बेलायत छिरेका हुन् । त्यसअघि साउदीमा थिए । त्यहाँ ६ वर्ष काम गरेर फर्कंदा रामजीकी बूढी एक वर्षीय छोरा माइतीमा छोडेर नारायणघाटको कविसँग पोइल गा’की रे ! बेलायतको भिसा हात परेको १५ दिनमा आफ्नै फुपूकी नन्द बूढीकन्यासँग बिहे गरेर दुई वर्षभित्र जसरी पनि ल्याउने शर्तमै उनी बेलायत उडेका थिए । उनकी तिनै दुलहीलाई च्यापेर एक्स्प्रेस रेलमा नर्थविच हुइँकिए ।
काले र राजेश दुई जनालाई एयरपोर्ट नजिकै ५ दिनको होटल बुकिङ छ भनेर दलालले पैसा लिएको रहेछ । होटल बुकिङको कागज पाउँदा नपत्याउने कुरै भएन । जब होटल पुगे– बुकिङ त क्यान्सिल रे’छ । छाँगाबाट खसेजस्तै भए । उक्त बुकिङ भिसा प्रोसेसका लागि मात्रै रहेछ । मलाई फोन गरेछन् । काममा हुँदा उठाउन मिलेन । रात परिसकेको थियो, बेलायतीको अंग्रेजी नबुझेर हैरान परे । यता, नेपालमा दलालले फोन अफ गरेर टन्टा साफ गरेछ । मलाई कालेले होटल बुकिङ छ, म एक्लै छैन, साथी छ । हामी घुम्दै आउँछौँ मामा भनेका थिए । काममा हुँदा कालेले मलाई २० मिस कल हानिसकेका रहेछन् । मैले फोन गर्दा उनीहरू दुबैको मोबाइल अफ । रातभर निद्रा लागेन । बिहानै फोन गर्दै काले मलिन स्वरमा भन्छन्, ‘लिन आउनुस् मामा । रातभर सुतेका छैनौँ ।’
होटलमा सुतेनौ ?
कहाँ सुत्नु ? मूर्दा दलालले फसाइगएछ नि ! बुकिङ त फुस्सा रे’छ । यहाँ लण्डनको जाडोले टोकिरहेको छ ।
म आउँदा मलाई नि टोक्छ, खुरुक्क लण्डन भिक्टोरियाको साउथइष्ट स्टेशन जानु, ग्रेभसेण्डको डाइरेक्ट टिकट लिनु भनेर सम्झाएँ । उनीहरूले त्यसै गरे । मैले रेल स्टेशनमा स्वागत गरें । मेरो भाञ्जाभन्दा राजेश जेठा मात्र होइन, बाठा पनि रहेछन् । पाल्पा रामपुरका राजेश पेशाले सिसिटिभी क्यामेरा जडान गर्ने प्राविधिक हुन् । उनले नै नवलपरासीस्थित चौधरीको सिजी ग्रुपमा सिसिटिभी क्यामेरा जोडेको भन्थे । बिहानको तातो भात, दाल तरकारी मीठो मानेर खाए । उनीहरूले यसरी स्वाद लिएकोमा म खाना बनाउनेलाई आनन्द लागेको थियो । राजेन्द्रले भने– मामा ! नेताहरू ८४÷८४ भन्छन्, गाउँ त सबै रित्तो भैसक्यो । सक्ने युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, अलि नसक्ने खाडी र सक्दै नसक्नेचाहिँ इण्डिया गएका छन् ।
थाहा छ मामा, झापा र रुकुम पश्चिमका गाउँघरमा त कोही छैनन् रे ! सबै हिँडेर अमेरिका गएका छन् । समाचार त हेर्नुभएकै होला है ! उनले यसो भनिरहँदा म झन् स्तब्ध भएँ । हामी सबै युवा बिदेसिएपछि नेपाललाई कसले बनाउने ?
देशमा युवा पलायनले विकराल स्थिति ल्याउँदै छ । यो रोकिने अवस्था छैन । राज्य र सरकारलाई चिन्ता पनि छैन ।
०८०÷८१ मा एक लाख ५० हजारभन्दा बढी युवा विद्यार्थीले विदेश पढ्नका लागि एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिए । साउन र भदौ लाग्दा पनि एनओसी लिनेको भीड उत्तिकै छ । यस्तो लाग्छ कि देशभरका कलेजमा पढ्ने विद्यार्थी कोही छैनन् । त्यस्तै, काम गर्न जान कोरियन भाषा र जापानिज भाषा पढ्नेहरू उत्तिकै छन् । म्यानपावर र एजुकेसन कन्सल्टेन्सीमा विदेश जान भनेर पासपोर्ट बुझाउनेको लर्को थेगिनसक्नु छ । झन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा देश नै रित्तिन लागेको भान हुन्छ ।
यो समस्या आजको होइन । यसको जरो केलाउन माओवादीले गरेको सशस्त्र विद्रोहका दिन सम्झनुपर्छ । गाउँमा नेपाली कांग्रेस र एमालेका मुख्य नेता–कार्यकर्तालाई निशाना बनाएपछि नेपाली कांग्रेसको तत्कालीन सरकार खासगरी त्यसबेलाका अर्थमन्त्री रामशरण महतले खाडी मुलुक जान फ्री भिसा, फ्री टिकटको व्यवस्थापन आफ्ना कार्यकर्ताका निम्ति गर्नु नै पहिलो कारण हो । २०५६ देखि २०५८ सम्म धेरै युवा खाडी पुगे । त्यहाँको वैभव देखे । त्यही पुस्ताका छोराछोरी र आफन्त अहिले नेपालमा छैनन् ।
कारण हो, नेपालमा बसेर केही हुँदैन भन्ने मानसिकता त्यो पुस्ताले चलायो र तिनका आफन्त, सहयोगी सबै सहमत भए । त्यसैको जबर्जस्त अन्त्यहीन प्रभाव नेपाली समाजमा स्थापित भयो । त्यससँगै डिजिटल संसारमार्फत विश्वमा कहाँ के छ भन्ने युवा जमातलाई थाहा भयो । विश्वव्यापी फैलिएको कोरोना भाइरसले कुन मुलुक कति सक्षम भन्ने प्रष्ट भयो । इन्टरनेटका कारण विश्व नै एउटा गाउँमा परिणत भएको यो अवस्थामा एशियाली मुलुकका नागरिकले युरोप, अमेरिकालाई आफ्नो गन्तव्य बनाए । विश्वभूमण्डलीकरणको प्रभावले मानिस बसाइँसराइ गरेका हुन् । यो अवस्था रोकिनेवाला छैन । युरोपेली देशमा अहिले कञ्जरर्भेटिभ पार्टीले जितिरहेका छन् । उनीहरूको नीति अल्पसंख्यक र आप्रवासीप्रति कडाइ गर्नु हो । यस्तो अवस्थामा युरोपेली मुलुकमा आप्रवासी विद्यार्थीलाई काम पाउन मुस्किल छ ।
प्राकृतिक र सम्पदाको धनी मुलुक नेपालले युवा पलायन रोक्ने नीति बनाउनुपर्छ । युवालाई रोक्न आफ्नो मुलुकप्रति आकर्षण बढाउनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।
टिप्पणीहरू