दोषबिना दोषी बनाइएको म दुःखी
कहिलेकाहीँ जिन्दगीले पनि सोच्दै नसोचेको मोडमा ल्याएर पछारिदिँदो रहेछ । नखाएको विष लाग्दो रहेछ । दोषीझैं देशै छोडेर भाग्नुपर्ने अवस्थासमेत आउँदो रहेछ । केही षड्यन्त्रकारीको जालमा फस्दा आज मैले अमेरिकामा लुकीलुकी बाँच्नुपरेको छ ।
नेपाल प्रहरीका पूर्वएआइजी श्यामलाल ज्ञवालीलाई पैसा नदिँदा मेरो दुर्दशा शुरु भयो । महानिरीक्षक (आइजिपी) बन्न उनले तीन करोड रूपैयाँ मागेका थिए । मैले दिन मानिनँ । त्यसैको परिणामस्वरुप उनले मलाई सात डाँडा काटेर हिँड्न बाध्य बनाइदिए ।
सुन तस्करीमा मेरो कुनै संलग्नता छैन । तैपनि, मलाई दोषी बनाइयो । मुख देखाएर हिँड्न नसक्ने अवस्थामा पुर्याइयो । सानैदेखि दुःख गरेर यहाँसम्म आइपुगेको म । जिन्दगीमा अनेकौं हण्डरठक्कर खाएँ तर कहिल्यै देश छोड्ने भनेर सोचिनँ । देशमै केही गर्नुपर्छ भन्ने सोचले दुःख गरेँ । पत्रकारिता गरँे । दिनभरि विज्ञापन उठाउँदै हिँड्थेँ । रातदिन नभनिकन मिहिनेत गरेर यो मुकाम हासिल गरेको मान्छेलाई अर्काको उन्नति–प्रगति देख्न नसक्नेहरूले ‘घर न घाट’ को बनाइदिए । रानीवनमा दरबारजस्तो घर भएको म आज आश्रयको खोजीमा हिँडिरहेको छु । मेरो सबै सम्पत्ति बैंकले खाइदिने भएको छ । बैंकले सम्पत्ति खाएपछि म सडकमा आउने निश्चित नै छ । २० वर्ष लगाएर मैले कमाएको सम्पत्ति एकै क्षणमा मेरो हातबाट गुम्दै छ ।
त्योभन्दा पनि दुःख लागेको कुरा, दोषी आँखैअगाडि हुँदा पनि कानुनले छुन सकेको छैन, निर्दोषीले भने भागेर हिँड्नुपरेको छ । सुन तस्करीमा मेरो संलग्नता छैन भन्ने कुरा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकारीहरूलाई राम्रोसँग थाहा छ ।
मलाई फसाउन खोजिएको यथार्थबारे पनि उनीहरू जानकार छन् । सुन तस्करीको आरोपमा सिआइबीले मलाई बयानका लागि बोलायो । तस्करीको मुख्य नाइके भनिएका दावा छिरिङलाई मेरो अगाडि राखेर केरकार गरियो । उनले ‘यसको संलग्नता छैन’ भनेपछि बल्ल मलाई छोडिएको हो । तर, १० दिनपछि जबर्जस्ती मेरो नाम सुन तस्करीमा संलग्नको सूचीमा हाल्न लगाइयो । श्यामलालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई उचालेर मविरुद्ध षड्यन्त्र गरे । सिआइबीले कतैबाट दोष नभेटेपछि छुटेको ममाथि हुँदै नभएको आरोप लगाइयो । फलानो–ढिस्कानोसँग जोडेर दोषी देखाउने प्रपञ्च शुरु भयो । कहिले नारायणकाजी श्रेष्ठ त कहिले कोसँग भेटेको भनी गलत प्रचार गरियो ।
श्यामलालले मलाई सिध्याउन यतिसम्म गरे कि बयान गरिसाध्य छैन । मेरो साथीलाई ‘जीवनलाई यहाँबाट भाग्न लगाऊ’ समेत भनेको थाहा पाएँ । एकातिर मलाई भाग भन्ने, अर्कोतिर दोषी थियो त्यसैले भाग्यो भनी हल्ला चलाउने खेल भयो । उनको धेरै बिजनेशमा करोडौंको लगानी छ । उनीहरूको लागि म एउटा प्रतिस्पर्धी पनि हुँ । मलाई आफ्नो बाटोबाट हटाउन उनी लामो समयदेखि कसरत गरिरहेका थिए । मैले खाद्यान्नको आयात–निर्यातको बिजनेश गर्दै आएको छु । वीरगञ्जमा साझेदारीसहित उनीहरूले दाल फ्याक्ट्री चलाएका छन् ।
‘नमस्ते एग्रो’ नामक सो फ्याक्ट्रीमा श्यामलालको १० करोड लगानी छ । उनका पार्टनर निराजन चलाउने र भरत चलाउने हुन् । मेरो कम्पनीले राम्रो कारोबार गर्दै आएको थियो । त्यसैले उनीहरू मसँग जलिरहेका थिए । वसन्त चौधरीबाट सोसेर नेपाली सेनाको मैले तीन अर्ब रूपैयाँको ठेक्का लिएको थिएँ । त्यसपछि सेनाले मलाई ६ अर्बको ठेक्का दिएको थियो । मेरो सबै बिजनेश डामाडोल भइहाल्यो । २० वर्ष कारोबार गर्दा मेरो छविमा कुनै दाग लागेन । ठूलै कारोबार भएपनि म अन्य व्यवसायीजस्तो चर्चामा आएको व्यक्ति होइन् । भुइँबाट उठेको मान्छे भएकोले म सँधै ‘लो–प्रोफाइल’ नै भएर बसेँ ।
दर्जनौं देशको भिसा हुँदाहुँदै कतै गइनँ । देशमै केही गरौं भन्ने भावना राखेँ । आठ–नौं ठाउँमा घर छ । जग्गाको लेखाजोखा गरी साध्य छैन । मैले डेढ–दुई सय जनालाई काठमाडौंमा पसल खोलिदिएको छु । उनीहरूले त्यहीँबाट आफ्नो परिवार पालिरहेका छन्, अन्यलाई पनि रोजगारी दिएका छन् । अन्यको घर बसाउने आज म आफैं बेघर भएको छु । दुइटी स–साना छोरी अर्काको घरमा छोडेर हिँड्नुपरेको छ । कहाँ जाने ? के गर्ने ? कुनै अत्तोपत्तो छैन ।
आफ्नै देश फर्किन मन छ । तर, फर्किने स्थिति छैन । मविरुद्ध कहिले रेड कर्नर नोटिस जारी गरेका छन् त कहिले डिफ्युजन अर्डर । जबकि सुन तस्करीका दावेदारहरू छुटिसकेका छन् । कसैको विरोधमा बोल्दा र कसैलाई मागेजति पैसा नदिँदा म यो अवस्थामा पुगेँ । मैले रविको विरोधमा एउटा अभिव्यक्ति दिएको थिएँ । त्यसैले उनले मलाई पेल्नुसम्म पेले । जनताको ६० करोड रूपैयाँ लुटे भनेकै भरमा ममाथि झुटो आरोप लगाए । रविका कर्तुतको प्रमाणहरू मसँग छ । उनले मिडियामा हुँदा कसरी करोडौं–करोडौं बार्गेनिङ गर्थें ? त्यो मैले देखेको छु । सहकारी ठगीमा भागेर हिँडेका जिबी राईलाई फसाउनमा उनकै हात छ । सोझो मान्छेलाई उचालेर कान्तिपुरभन्दा ठूलो साहु बनाउँछु भन्ने प्रलोभन देखाइयो । जिबीले पत्याए । सहकारीको त्यत्रो पैसा रविले झ्वाम्म पारिदिए ।
म आफैं पनि सञ्चारकर्मबाट आएको व्यक्ति हुँ । कसरी रविले हाउगुजी देखाएर पैसा बटुल्थे ? मलाई राम्ररी थाहा छ । न्यूज २४ मा ‘सीधा कुरा जनता’ सँग कार्यक्रम चलाउँदा उनले करोड–करोड घप्ला गर्थे । शुक्रपथ बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसँग एक करोड रूपैयाँ खाएका छन् । त्यसको प्रमाण मसँग छ । समाचार छापिदिन्छु भनेर सहकारीका पदाधिकारी निरहरि उपाध्यायलाई तर्साएर पैसा असुलिएको हो । न्यूज २४ को साहु अनिल जोशीले समाचारपत्रमा कार्यरत आशिष भन्ने व्यक्तिको नाममा ‘गुड फर पेमेण्ट’ को चेक लिएका थिए । रविले बार्गेनिङ गरेर हैरान बनाउँथे । सञ्चारकर्ममा हुँदा म प्रहरीलाई गोप्य सूचना दिन्थें । तर, मलाई नै ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुर्याइएको छ । सुन तस्करीमा टाढा–टाढासम्म कुनै संलग्नता नभएको म आज प्रहरीको फरार सूचीमा छु । मलाई धुइँधुइँती खोजिएको छ । म अझैपनि भन्न चाहन्छु कि सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, मलाई सुनियोजित रूपमा फसाउन खोजिएको हो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू