त्रिविकाे र्‍याङ्किङ खस्कियाे तर 'सत्ताकब्जा अभियान' जारी

त्रिविकाे  र्‍याङ्किङ खस्कियाे तर 'सत्ताकब्जा अभियान' जारी

- मनाेज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्त गर्नुपर्ने आवाज उठाउनेमा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै युवा नेता तथा हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलहरुको नाम अगाडि आउँछ । गत वर्ष पुस त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि लगातार तीनवटा विज्ञापन निकाल्नुमा सुरुवाती जस कांग्रेसका यी तीन भाइलाई दिनु अतिशयोक्ति नहोला । किनभने उनीहरुले लगातार संसद र आमसञ्चारमा यो विषय महत्वका साथ उठाउँदै आएका थिए ।

त्यसबाट सृजित दबाबले गर्दा काँग्रेस-माओवादी केन्द्र संयुक्त सरकारका प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई भिसी नियुक्ति सर्च कमिटीबाट गरिने विगतकै निरन्तरता दिन अप्ठ्याराे परेको हो । फलत: ईतिहासमै पहिलाेपटक २०८० पुस २० गते भिसि पदकाे विज्ञापन खुलाइयो । र, त्यसलाई सुधार्दै-सच्याउँदै ३ चाेटीसम्म विज्ञापन प्रकाशित भयो । ३ पटकसम्म गर्नुपर्ने कारण चैं माओवादीकाे गडबड साेचकाे प्रष्ट संकेत थियाे र तदनुसार दृष्य-अदृष्य सबै अनैतिक खेल वामपन्थीहरूबाट आज पर्यन्त  भैराखेका छन् ।

यस लेखकाे आशय विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त गराउने दाबीका साथ गरिएको भिसि नियुक्ति र त्यसले दिएको परिणाम केलाउनु हाे । त्रिविकोस्तर निरन्तर खस्कँदो छ । टाईम्स हायर एड्यूकेशनकाे पछिल्लो मापनमा त्रिविकाे र्याङ्किङ नभई केवल लिस्टिङमा मात्र रहेको अवस्था छ । तर, कथित् विज्ञापनद्वारा नियुक्त गरिएका त्रिविका भिसि प्राडा केशरजंग बरालमाथि भने माओवादी-वामपन्थी-पाेखरेलीलाई सेट गर्न 'व्यस्त' रहेकाे आरोप लागिरहेको छ ।

छनाैटमै गड्बडी

२०८० पुस २२ गते तेस्राे पटककाे विज्ञापनमा त्रिवि ऐनअनुसार सर्च कमिटिमा शिक्षामन्त्री अशाेक राई (सहकुलपति, पूर्वकम्युनिस्ट, जसपाबाट सरकारमा प्रतिनिधित्व गरेकाे), शिक्षा सचिव सुरेश अधिकारी (सरकारद्वारा पद दिएर पुरस्कृत गरिएकाे) र उपप्राध्यापक चन्द्रकला घिमिरे (बुद्धिस्ट स्टडीज केन्द्रीय विभागकी अध्यक्ष, माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनकी नेतृ) थिए ।

३ सदस्यीय सर्च कमिटिपछि विज्ञापनलाई 'सर्वस्वीकार्य' बनाउन भन्दै ऐनले नचिनेकाे 'विज्ञ कमिटी' पनि गठन गरियाे, जुन माओवादीकाे 'हाईभाेल्टेज ड्रामा' थियाे । समूहमा विश्वविद्यालय अनुदान आयाेग (युजिसी)का अध्यक्ष प्राडा देवराज अधिकारी (माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन). युजिसिका सदस्य-सचिव प्रा. शंकर भण्डारी (एमाले सम्वद्ध नेपाल प्रगतिशिल प्राध्यापक संगठन), प्राडा मीनबहादुर श्रेष्ठ (माओवादी), प्रा. वासुदेव काफ्ले (माओवादी) थिए । जबकि त्रिवि सभा (सिनेटर) मा भने ५ मध्ये ३ अर्थात्, ६० प्रतिशत सिनेटर कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघबाट निर्वाचित छन् । नेपाल प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघमा पनि डेमाेक्रेट भनिने कांग्रेसीकाे यस्तै उपस्थिति रहेको महाधिवेशन/अधिवेशनहरूमा जितेकाे सिट संख्या र भाेटले देखाउँछ ।

भीसी चयनकाे दृष्य-अदृष्य अनैतिक कर्महरूकाे फेहरिस्त यतिमै सीमित थिएन । उदेक लाग्दो कुरा चै, प्रा र डा भएका तथा "दल त्यागकाे स्वघाेषणा" गरेका उम्मेदवारहरूले प्रस्तुत गरेको तीन हजार शब्दकाे 'भिजन पेपर' र पाँच हजारकाे 'वर्क प्लान पेपर' हेर्ने र अन्तर्वार्ता लिने हैसियत प्राडा नभएका र दल त्याग नगरेकाहरुबाट कसरी सम्भव भयो ! किनभने सर्च कमिटिमा आवद्ध उपप्राध्यापक चन्द्रकला घिमिरे, विज्ञ तथा अन्तर्वार्तासमेत लिने प्राध्यापक शंकर भण्डारी डाक्टर होइनन् र उनीहरुले दलीय आवद्धता पनि त्यागेका थिएनन् । यी कथित् विज्ञहरूकाे क्षमता कुन नीति, नियम, 'सरस्वतीमाताकी मानस पुत्र/पुत्रीकाे प्रमाणपत्र' बाट पुग्ने भयाे ?

परिणामत: ४१ जना भीसीका उम्मेदवारमध्ये १४ जनालाई डेमाेक्रेट र लालसलाम गर्दै शर्टलिस्टिङ गराइयो । अन्तिम ३ मा पुग्दा प्राडा चित्रबहादुर बूढाथाेकी, प्राडा केशरजंग बराल (उनीहरु दुबै माओवादी सम्वद्ध कर्मचारी संगठनमा आवद्ध) र प्राडा टंकनाथ धमला (एमालेनिकट कर्मचारी संगठन) छानिए । अन्तिम ३ मा कांग्रेसनिकट अटेनन् । जबकि उक्त खेमाका प्राडा तीर्थराज खनिया को त्रिविकै पूर्वभीसी थिए उनी पनि प्रतिश्पर्धामा थिए । त्रिविकै पूर्वशिक्षाध्यक्ष प्रा. गुणनिधि न्याैपाने, मानविकी विभागकी डिन प्राडा कुशुम शाक्यलगायत थुप्रै कांग्रेस निकटहरु सर्टलिस्टमै परेनन् । काँग्रेसका युवा नेताहरूले याेजना मुताबिक नै भीसीकाे 'विज्ञापन' लाई मीडियामा छाउने अस्त्र बनाई सरकार र पार्टीमा सुरक्षित स्थान खाेज्ने रणनीतिअनुरुप रहेछ भन्ने परिणामले प्रष्ट्याएको छ ।  

भनिन्छ अन्तिम ३ जनामा पारिएकामध्ये एकजनाकाे त कथित् विज्ञ समूहका एक सदस्यले नै 'भिजन र वर्क प्लान पेपर्स' लेखिदिएर स्वयंले 'विज्ञ' भई अर्थात्, नाम अर्काेकाे तर आफैंले लेखिदिएका पेपर्सकाे आफैंले 'मूल्यांकन' पनि गरेर पारिएकाे थियाे । माओवादी नेता देवेन्द्र पाैडेललाई प्रचण्डले भीसि नियुक्तिमा 'समन्वय' गर्ने जिम्मा दिएपनि पार्टीभित्रै उनका प्रतिस्पर्धीले चित्रबहादुर बूढाथाेकीकाे नाममा संघर्ष गर्दै रहेको विषय कान्तिपुर दैनिकमा आएको थियो । अन्तत: १ नम्बरमा नाम रहेका बूढाथाेकीलाई ताेकिएकाे सिलिङ्गभन्दा बढी बिना कैफियत अङ्क दिईएकाे भनेर 'विवाद'मा पारिकन दोस्रो नम्बरका केशरजंग बराललाई नियुक्त गरियो । बराल स्वयंले प्रचण्डलाई यसरी भीसि बनेर जाँदा 'काम गर्न' अप्ठ्याराे हुने भनेका थिए भन्ने चर्चा त्यसबेला व्यापक थियो ।

केशरजंगलाई नै भीसि बनाउन प्रचण्डले तीब्र देखाउनुमा केही खास कारण छन् । जस्तो, २०६४ देखि ०६८ सम्म पाेखरा विश्वविद्यालयको भीसि रहँदा कार्यकारी बैठकमा समेत वाईसिएलको युवा दस्ता बाहिर राखेर निर्णय 'पारित' गराई विश्वविद्यालयलाई  माओवादीकरण गर्न सफल भएका पात्र हुन् बराल । (वाईसिएलका धम्की फाेनहरू तात्कालीन रजिष्ट्रार प्राडा ओम शर्मालाई थाहा छ), अर्को चै बरालकी धर्मपत्नी र परिवारका सदस्यहरुसँग प्रचण्डकाे काेठासम्म पुगेर टेबुल ठाेक्ने 'हैसियत' राख्ने तहको निकटता छ ।
स्मरण रहाेस्, स्वयं प्रचण्डबाट 'निष्पक्षता' भनी जति दलीय-वामपन्थीकरणका अभ्यासहरू भईरहेका थिए, साेबारे कान्तिपुरले भीसि चयनसम्म ठिकठिकै समाचार बनाउँथ्याे तर केशरजंग बराल आएपछि अचानक बद्लिन थाल्याे ।

सावधिक विवादित प्रक्रिया

गत भदाै १७ गतेदेखि १ सातासम्म 'त्रिवि सावधिक पदमा नियुक्ति प्रक्रिया/कार्यविधि संशाेधितसमेत, २०८१" बमाेजिम डिन, डायरेक्टर, क्याम्पस प्रमुख, निर्देशक र परीक्षा सह-नियन्त्रकका लागि विज्ञापन निकालिए । जसमा करीब २५८ जनाले आ-आफ्ना क्षमता देखाउन उत्साहित भए । याे स्वभाविक पनि थियाे, किनकि प्राध्यापकका नाममा वैचारिक समूहले विगतमा आसेपासेलाई वा रकममा पद बेच्ने गरेकाे आराेपबाट ग्रसित थिए । तर, न भीसि पदमा एक चाेटीमात्र विज्ञापन भयाे (अर्थात्, पटकपटक "सुधार्दै" विज्ञापन भए), न यी सावधिक पदमा ! अर्थात्, भीसि छनाैटदेखिको खोटो नियतले झन् निरन्तरता पाइरहेको छ ।

उदाहरणका लागि व्यवस्थापन संकायकाे डिनका लागि प्राडा पुष्पराज जाेशी, प्राडा महानन्द चालिसे, प्राडा भाेजराज अर्याल, प्राडा अच्यूत ज्ञवाली, डा. ठाकुरप्रसाद शर्मा र प्राडा दिलिप पराजुलीहरूले दरखास्त दिएकोमा मङ्सिर महिनामा मात्रै व्यवस्थापन तथा विज्ञान तथा प्रविधिका डिनहरूकाे टुङ्गाे लगाउने भनिएकाे छ । तर, जतिको शर्टलिस्टिङ्ग गरिएकाे छ, सबैमा भीसि बरालले माओवादी निकट र मान्छे नपुगे वामपन्थी भनिएका रेक्टर प्राडा खड्ग केसीलाई रिझाउन एमाले सम्वद्ध प्राध्यापककाे नाम प्राथमिकतामा राखेको पाइएको छ । यो कस्तो प्रक्रिया हो कि ३ सदस्यीय सर्च कमिटी हुँदाहुँदै अलगै 'विज्ञ समूह' का नाममा केवल भीसिकाे कुरा चल्ने गरि बनाईन्छ र त्याे कथित् समूहबाट पनि संयाेजक वा अमूक व्यक्तिले उम्मेदवारमध्येबाट निश्चित कसैकाे फाईल पढेर अंक हालेर "शर्टलिस्टिङ्ग" गरिन्छ ?

शर्ट लिस्टिङमा सक्दाे माओवादी, नभए एमाले निकटलाई माथि पारिन्छ र कथं तल पर्न गए 'फलानोलाई बनाउनेगरी फाईनल नाम निकाल्न' विज्ञ, सर्च कमिटी र रजिष्ट्रारलाई दबाव दिईन्छ । यहि हो "निष्पक्षता" ? होइन यो त विश्वविद्यालयमा माओवादी-वामपन्थीकरण सत्ताकब्जा हाे ? तल हेराैं केही उदाहरण :

मानविकी तथा सामाजिक शास्त्र संकायकाे डिनका लागि प्राडा दुविनन्द ढकाल, प्राडा रमेशकुमार श्रेष्ठ, प्राडा रामकृष्ण तिवारी, प्राडा ताराप्रसाद भुसाल, प्राडा सञ्जय आचार्य, प्रा. कृष्णराज आचार्य, डा. तुलसीप्रसाद गाैतम र प्राडा ध्रुव कार्कीहरूले दरखास्त हालेकोमा  गत असोज ७ गते शर्टलिस्टमा क्रमश: प्राडा भुसाल, प्राडा ढकाल, प्राडा कार्की, प्राडा तिवारी र प्राडा आचार्य छानिएका छन् । उनीहरु सबै वामपन्थी समर्थक हुन् ।

अर्को उदाहरण : मानविकीका पूर्वसहायक डिन प्राडा राजकुमार पाेखरेलले डेमाेक्रेट प्रा. कृष्ण आचार्य "डाक्टर" नभएको भनेर फालिदिए । जबकि विज्ञापनमा सर्टिफिकेट राख्नुपर्ने कतै उल्लेख छैन र अन्तर्वार्तामा त्याे जरूरत परे हेर्ने मात्र हो । यतिमात्र हैन, असोज ७ गतेपछि शर्टलिस्टिङ भएका अन्य संकायका डिनका उम्मेदवारहरुको पनि नामको अगाडि प्राध्यापक र डाक्टर दुईटै छैन । डर र लाजले अप्ठेरो मान्नुपर्ने प्राडा पाेखरेलले उल्टै सामाजिक सञ्जालमा 'डा' नलेख्दा नम्बर नपुगेर फालिएकाे स्टाटस लेखेर बद्मासी गरेकाे प्रमाण दुनियाँलाई दिए तर उनी "सामान्य" भई डीन छान्दै गरेको तथ्य भने दुनियाँलाई थाहा दिएका छैनन् ।

त्यस्तै, शिक्षाशास्त्र संकायकाे डिनमा प्राडा वेदराज आचार्य, प्राडा एकारत्न आचार्य, प्राडा विष्णु खनाल, प्राडा नारायणप्रसाद बेल्वासे, डा. कुश्मिला आचार्य, प्राडा चित्रबहादुर बूढाथाेकी, डा. गाेपालप्रसाद पाण्डे र प्राडा विनाेद लुईंटेलहरूले आवेदन दिएका थिए । जसमध्ये विगतमा भीसिमा पनि फारम भरेका, प्रश्नपत्र बेचेकाे आराेप लागेर सार्वजनिक पदमा अयाेग्य ठहर भएकाहरु पनि 'वामपन्थी सर्टिफिकेट' भएकै कारण शर्टलिस्टमा पारिएका छन् । प्राडा एकारत्न आचार्य, प्राडा चित्रबहादुर बूढाथाेकी, प्राडा नारायणप्रसाद बेल्वासे, प्राडा विनाेद लुईंटेल र प्राडा वेदराज आचार्य क्रमश: सर्टलिस्टेड भएका हुन् ।

उता चिकित्सा शास्त्र अध्ययन संस्थानकाे डिनमा प्राडा अभिमन्यु झा, प्राडा माेहनराज शर्मा, प्राडा रमेशसिंह भण्डारी, प्राडा निर्जु रञ्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा मिता राणा, प्राडा ज्याेतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल, प्राडा दिव्या सिंह शाह र डा. सुधा बस्नेतलगायतले दस्खास्त भरेकोमा क्रमश: प्राडा झा, प्राडा श्रेष्ठ, प्राडा शाह, प्राडा शर्मा र प्राडा बस्नेत छानिएका छन् ।

ईञ्जिनियरिङ अध्ययन संस्थानतर्फ आवेदकहरूमध्येबाट असोज ९ गते नै गरिएकाे शर्टलिस्टमा प्राडा भाेलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पाैडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशिलबहादुर बज्राचार्य छन् । मेडिसिन र ईञ्जिनियरिङमा माओवादी र एमालेले नछाेड्ने भन्दै रजिष्ट्रार, सर्च कमिटी र विज्ञ कमिटीका सदस्यमाथि दबाब दिने काम भैरहेको छ । कांग्रेसका उम्मेदवारको नाम माथि आए छोड्न आग्रह पनि गरिएको छ । यहि लुछाचुँडी र डेमाेक्रेटहरूलाई 'भागबण्डा गर' भन्ने हाे भने विज्ञापन किन निकालेका ? अनि त्रिवि सुधार गर्छु भनेर भिसि बनेका र आफूले रोजेका रेक्टर र रजिष्टार राख्न चाहेका केशरजंग बराललाई प्रश्न छ -  विश्वविद्यालयमा दलीय भागबण्डाका आधारमा हुने नियुक्ति प्रथा हटाएर सुधार्ने कि पेलेर वामपन्थी झुकाव राख्ने ? नेतालाई आर्थिक लेभि उठ्नेगरी जागिर दिलाई "सत्ताकब्जा" गर्नलाई हो तपाईं भिसी भएको ?

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) काे कार्यकारी निर्देशक पदमा पनि यस्तै अवस्था छ । प्राडा वेदराज आचार्य, प्राडा एकारत्न आचार्य, प्राडा नारायणप्रसाद बेल्वासे, प्राडा कमलकुमार पाैडेल, प्राडा सुरेन्द्र गिरी, डा. कुश्मिला आचार्य, राजेन्द्र कुँवर र प्राडा सुदन झाले आवेदन भरेकोमा प्राडा आचार्य, प्राडा पाैडेल, डा. कुँवर, प्राडा आचार्य र प्राडा गिरी छन् । कांग्रेसनिकट भनिएका कुश्मिला आचार्यहरु यहाँबाट पनि फालिए ।

भीसिकाे महत्वपूर्ण अङ्ग मानिने याेजना निर्देशनालयकाे निर्देशकमा प्राडा नारायणप्रसाद बेल्वासे, प्राडा एकारत्न बज्राचार्य, डा. साेमबहादुर बानियाँ, डा. खेमराज खरेल, प्राडा शाेभाकान्त लामिछाने, प्राडा ज्ञानबहादुर थापा, डा. लक्ष्मीकान्त शर्मा र डा. प्रेमबहादुर थापा उम्मेदवार रहेकोमा प्राडा बेल्वासे, डा.थापा, डा. शर्मा, प्राडा लामिछाने र प्राडा ज्ञानबहादुर सर्टलिस्टमा परेका छन् । त्यस्तै, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानकाे डिनमा डा. किशाेरचन्द्र दाहाल, प्राडा लालप्रसाद अम्गाईं, प्रा. सराेजराज मिश्र, प्राडा थमबहादुर गुरूङ्ग र डा. हरिकृष्ण पन्त सर्टलिस्टेड भएका छन् ।

क्याम्पसतर्फ भने सिराहाको सूर्यनारायण सत्यनारायण माेरबैता यादव क्याम्पसमा १०, पृथ्वीनारायण क्याम्पस पाेखरामा ९, जनकपुरस्थित रामस्वरूप रामसागर क्याम्पसमा १०, बुटवल बहुमुखी क्याम्पसमा ५, त्रिभुवन बहुमुखी क्याम्पसमा ५, पाटन संयुक्त क्याम्पसमा  स्तम्भकारसहित १७, विश्वभाषा क्याम्पसमा ४, सुर्खेत बहुमुखी क्याम्पसमा ७, जुम्ला क्याम्पसमा १, विरेन्द्र बहुमुखी क्याम्पसमा ३, महेन्द्र बहुमुखी क्याम्पसमा ११, सानाेठिमी क्याम्पसमा ११, ललितकला क्याम्पसमा ५, भैरहवा बहुमुखी क्याम्पसमा १३ र भाेजपुर बहुमुखी  क्याम्पसमा ४ जनाले फारम भरेका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुलगायत देशैभरका शाखा कार्यालयहरूका लागि कुल ६ सिटमा  ६९ जनाले आवेदन दिएको बुझिएको छ ।

पहिला डिन र डाइरेक्टरकाे टुंग्याएर क्याम्पस प्रमुख र पनिका, डिपुटी कन्ट्राेलर चयनतर्फ पस्ने साेच राखिएकाे सुनिन्छ तर अहिलेसम्म केही टुंगिएकाे छैन । सबैमा विवाद भएर अड्किएको स्थिति छ ।

भीसी अफिसबाटै शक्तिकाे दुरूपयाेग

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालकाे कार्यालयमा दलका कर्मचारी र विद्यार्थीहरूकाे दबदबा प्रत्यक्ष देख्न र अनुभव गर्न सकिन्छ । जस्तै, समाजशास्त्र केन्द्रीय विभाग प्रमुखमा टीकाराम गाैतमको राजनैतिक "सगाेत्र" नमिल्दा उनलाई फालेर पासाङ शेर्पालाई बनाईयाे । वाम विभागाध्यक्ष बनाईंदा भीसि र अनेरास्ववियू अनि अनेरास्ववियू (क्रा.) ले उल्टै माेटरसाईकल र्याली 'मार्चपास'सहित कथित् "ज्ञापनपत्र" बुझाएर "सिनियरिटि"काे आधार पछ्याए ।

त्यस्तै, क्याम्पस प्रमुखकाे छनोट समितिमा विज्ञापन नखुलाईंदै पाटन क्याम्पसबाट सदस्यमा नेराप्रा संगठनकाे एकाई अध्यक्ष रहिसकेका र माओवादीकाे काेटामा पनिका, बल्खुमा डेपुटी कन्ट्राेलर खाईसकेका प्राडा सञ्जयकुमार मिश्रकाे नाम अन्य दुई संयाेजक प्राडा माधव दाहाल र सदस्य प्राडा भाेजराज अर्यालसँगै प्रस्तावित गरियाे । दाहालले नियुक्ति नै लिएनन् भने व्यवस्थापनकाे डीनमा आफू भर्ने भनेर उच्च नैतिकतामा अर्यालले बस्नै मानेनन् । दाहाललाई हाल प्राडा जीवेन्द्रदेव गिरी तथा अर्याललाई प्राडा रामचन्द्र बस्नेतहरूले विस्थापन गरेका छन् ।

तर, मिश्रका एक हाेईन धेरै अनैतिक, सार्वजनिक पदमा बस्न अयाेग्य रहेका प्रमाणसहित यहि स्तम्भकारले रेक्टर अफिसमा हटाईपाउँ भनेर निवेदन दिई पटकपटक खबरदारी गरेपनि भिसिका कारण नहटाईएकाे जवाफ आउने गरेको छ । विधिवत् चयन नहुँदै मिश्रले पाटन क्याम्पस अगाडिको चिया पसलमा गफ लडाउदै कसैलाई क्याम्पस चीफ 'बनाइसकेर' बिभिन्न आश्वासन पनि दिईसकेका छन् । उनी आफैं पाटन क्याम्पसमा कार्यरत शिक्षक अनि स्तम्भकार उम्मेद्वार-निवेदक !, कसरी मिश्रले "कन्फिल्क्ट अफ् ईन्ट्रेस्ट्स्"मा अब सेलेक्सन मेम्बर बन्न मिल्छ ? कि मेरा निवेदनअनुसारका प्रमाणहरू सार्वजनिकरूपमा सुनुवाई हाेस् र निज मिश्रलाई हटाईयाेस्, हैन मैंले त्रिविकाे समय नष्टमात्र गरेकाे हुँ भने मलाई सजायसहित जिम्मेवार बनाईयाेस् । तर, कानमा तेल हालेर सुत्न मिल्दैन र यथास्थितिमा मिश्रलाई राखेर क्याम्पस चीफ चयनकाे प्रकृया अगाडि बढाउन पाइंदैन ।

यस्तो उदाहरण अर्को पनि छ, मानविकी संकायअन्तर्गत डिनकाे लागि शर्टलिस्टमा वामपन्थीमय बनाउनलाई नै "डाक्टर काे सर्टिफिकेट नखुलाएकाे" भनेर कृष्णराज आचार्यकाे नाम फालियाे । तर, उनले आफ्नाे डाक्टर रहेकाे सर्टिफिकेटकाे दलीलसहित निवेदन भीसि अफिसमा दिएपनि सुनुवाई नभएको अवस्था छ । त्यस्तै, दशैंअगाडि डिन र डाइरेक्टर टुंग्याउने भनिएकामा जहाँ कांग्रेसीहरू शर्टलिस्टमै 'अयाेग्य' भनी फालिए त्यहाँ विवाद छैन । जहाँ शर्टलिस्टेड छन्, त्यहाँ भीसिनिकटहरुले 'एमालेले नछाेड्ने भयो हामीलाई अर्काे ठाउंमा चाहियाे'  भनेर अड्काइएको स्थिति छ ।

उपकुलपति बरालसित विमति राख्न अनुशासित भएर जानुस्, पञ्चायतमा जस्ताे केरकार गरेर भित्र पस्न दिंदैन । समूहमा जाँदा उनी "विरामी" पर्छन् र "असुरक्षित" भई सरकारबाट सुरक्षा माग्छन् । अनि आफ्नै कर्मचारी र प्रहरीकाे "बल"मा मन नपरेकाे व्यक्ति वा समूहलाई बन्देज लगाईएकाे छ । उत्ता आफ्नाे कुरा जहाँपनि लाद्न रेक्टर र रजिष्ट्रारलाई निजि निवास बाेलाउने, पेल्ने, नमाने उनीहरुको अफिसमा कथित् १८ बुँदे माग राखेर अनेरास्ववियू (क्रा.)काे नाममा मान्छे पठाएर कहिले ताेडफाेड त कहिले रजिष्ट्रार अफिसमै ६ जना माओवादी विद्यार्थीलाई २४ घण्टा सुत्न लगाउने ! बरालनिकट ने. रा. प्रा. संगठनका प्राध्यापकहरूले भने रेक्टर र रजिष्ट्रार अफिसमा अरू व्यक्ति समय लिएर भेट्न पर्खिरहेकालाई बेवास्ता गर्दै माओवादीकाे हेडक्वार्टरमा झैं "टाईम लिया छ है !" भनेर ग्रुपमै पस्ने ।

त्रिविमा प्राडा तीर्थराज खनिया र उनीपछि प्राडा धर्मकान्त बास्काेटा भिसी रहँदासम्म कुनैपनि कार्यालय विद्यार्थी समूहलाई अधिवेशन/गतिविधि गर्नलाई दिईएन । तर "दल त्यागकाे स्वघाेणा" गरेर त्रिविबाट "राजनीति हटाउँछु" भनेर आएका बरालले भने माओवादीको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) लाई महाधिवेशन गर्न त्रिवि स्मृतिभवन दिए । त्यहाँ अन्य थुप्रै काेठा भएपनि त्रिवि प्राध्यापक संघकाे बैठक कक्षलाई निर्वाचन कार्यालय बनाइयो ।  

कान्तिपुरले दशैं मनायाे, बेथिति देखेन

त्रिविकाे उपकुलपति नियुक्तिको प्रकृयासम्म त्यहाँ भैरहेका अनैतिकता र अपारदर्शीताका विषयले कान्तिपुर मिडिया ग्रुपका सबै पत्रिका, रेडियाे, टेलिभिजनमा प्राथमिकता पाइरहेका थिए । तर, २ नम्बरमा रहेका केशरजंग बराल भिसी बनेपछि भने सम्पादकीय नै लेखेर 'केशरजंग बरालजस्ताे मान्छे त्रिविले पाउनु साैभाग्य हाे, अब चाैतर्फी सुधार हुन्छ' भनेर लेख्याे । यतिमात्र हैन कि भिसीको दाैडमा रहेका पूर्वभीसि प्राडा तीर्थराज खनियालाई राेक्न न्वारनदेखिकाे बल लगाइएको थियो ।

त्यतिमात्र हैन, बराल भिसी भएर आएपछि अचानक 'सफ्ट टाेन' भई प्रशंसा गर्न थालेकाे कान्तिपुरले पुन: त्रिविका स्टेकहाेल्डर्स/सिनेटर संस्थाहरु नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघलगायतलाई भूमाफियाको आरोप लगाएर लगातार समाचार बनायाे, जबकि त्याे ल्याबरेटरी स्कुल, राधाकृष्ण मन्दिर वा पाटन क्याम्पसकाे भाडाको विषय, त्रिपुरेश्वरकाे वर्ल्ड ट्रेड सेन्टर, बल्खुकाे टाटा सुमाेवालालगायत देशैभर त्रिविको जमिन कब्जा गर्नेहरूलाई मात्र लेख्न मिल्थ्याे ।

दुर्भाग्य, कान्तिपुरले अचानक बेथितिविरूद्ध समाचारहरू लेख्न बन्द गर्याे । प्रष्ट छ, लाखौँ दरका त्रिविका विज्ञापन मासिक जान थाल्याे । हुँदाहुँदै माथि उल्लेखित सावधिक पदका नियुक्तिमा भीसि बरालकाे माेनाेपाेली नदेखे झैं गरेर कान्तिपुर "शान्तिपूर्ण" दशैं मनाएर बसेकाेझैं प्रतीत हुन्छ । याे पत्रकारिताकाे धर्म नभई नीजि कमाउधन्दाकाे लागि विगतकाे उसकाे 'ब्लैकमेल' हाे ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस)

टिप्पणीहरू