बादशाहलाई समात्न माग गर्दै माइतीघरमा निरन्तर धर्ना

बादशाहलाई समात्न माग गर्दै माइतीघरमा निरन्तर धर्ना

निर्मला कुर्मी हत्या प्रकरणको छानविन र दोषीमाथि कारवाहीको माग गर्दै अधिकारकर्मीहरुको समूहले आज पनि माइतीघर मण्डलामा धर्ना दिएको छ । 

महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले तीन बुँदे माग राखेर ६८ औँ दिनको धर्ना जारी राखेको हो । राष्ट्रिय महिला सुरक्षा दबाब समूह, राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जाल र महिला अधिकारको लागि राष्ट्रिय अभियानको संयुक्त अगुवाइमा भएको धर्नामा महिला अधिकार मञ्च बाँकेका सदस्य राहुल शेखलगायत आधा दर्जनको उपस्थिति छ । 

धर्नाकारीले निर्मला कुर्मीको हत्यारालाई सरकार र सत्ताधारी पार्टीहरुले नै संरक्षण गरेको आरोप लगाएका छन् । हत्यामा संलग्नलाई कारवाही गर्न र मुद्दा अदालत पठाउन सरकारले पटक-पटक सहमति गरेपनि कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । 

महिलाको मुद्दामा सरकार चरम असंवेदनशील रहेको गुनासो गर्दै पीडित पक्षले मुख्य अभियुक्त भनिएका कांग्रेस नेता बादशाह कुर्मीलाई सत्ताको संरक्षणमा उम्क्याउन खोजिएको आशंका गरेका छन् ।   

निर्मलाको न्यायको लागि सरकारलाई दबाब दिन अधिकारकर्मीहरुले गत जेठ २५ गतेदेखि मण्डलामा धर्ना शुरु गरेका थिए । असार ११ गते सरकारसँग पाँच बुँदे सहमति भएपछि धर्ना तथा आन्दोलन कार्यक्रम स्थगित भएको थियो ।

त्यसैबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाइएपछि साउन २५ गतेदेखि उनीहरुले पुन: धर्नामा उत्रिए । चौतर्फी दबाबपछि कांग्रेस नेतासमेत रहेका बादशाहले असोज २५ गते मन्त्री पदबाट राजीनामा दिएपनि उनलाई दण्डित नगरिएसम्म्म धर्ना जारी राख्ने अधिकारकर्मी महिलाहरुले जनाएका छन् । 

पुरानो अनुसन्धान टोलीलाई बाँके पठाउनुपर्ने, समयभित्रै मुद्दा अदलतमा दर्ता गरिनुपर्ने र अन्दोलनकारीको सुरक्षाको ग्यारेण्टी राज्यले लिनुपर्ने उनीहरुको माग छ ।
 

टिप्पणीहरू