मारवाडीले हडपेको धर्मशाला खालि गराउन सुरक्षा माग

मारवाडीले हडपेको धर्मशाला खालि गराउन सुरक्षा माग

मारवाडीहरुले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खाली गराउन काठमाडौं महानगरले स्थानीय प्रशासनसँग सहयोग मागेको छ । 

महानगरले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै शान्ति सुरक्षा उपलब्ध गराइदिन आग्रह गरेको हो । पत्रमा धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएकाले धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । 

‘काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २०८१-०६-२२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्चालन-व्यवस्थापन गर्न मिति २०८१-०६-२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिबमोजिम काठमाडौं महानगरपालिकाद्धारा धार्मिक सामाजिक कार्यमा उक्त धर्मशाला सञ्चालन-व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका कागजातको छायाप्रति संलग्न गरी अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ । 

२१ वर्षदेखि मारवाडी सेवा समितिले सस्तो भाडादरमा धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा भोगचलन गर्दै भएको थियो । तर, २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले उक्त सम्झौता खारेज गरेसँगै विवाद चर्किएको छ । 

मारवाडीहरुले काठमाडौँ जिल्ला अदालतमा रिट हालेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला छोडेको छैन ।

यसैबीच असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरीलाई मारवाडी समुदायले अवरोध गरेका थिए । अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाइएको छ ।

टिप्पणीहरू