कोरोनाले थलिएको व्यवसाय उकास्न बिना धितो ऋण माग

कोरोनाले थलिएको व्यवसाय उकास्न बिना धितो ऋण माग

साना तथा मझौला व्यवसायीले बिना धितो ऋण दिन सरकारसँग माग गरेका छन् । 

कोरोना महामारीपछि आर्थिक मन्दीको चपेटामा पर्दा व्यवसायले गति लिन नसकेको भन्दै उनीहरुले बिनो धितो न्यून ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने माग तेर्स्याएका हुन् । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको साना तथा मझौला व्यवसाय विश्व आर्थिक मन्दीपछि उकासिन नसकेकाले सरकारले माग सम्बोधन गरी व्यवसायीलाई उकास्नुपर्ने उनीहरुको तर्क छ । 

साना तथा मझौला व्यवसाय महासंघकी अध्यक्ष इनु पौडेलले सरकारले लगानी गर्न नसकेमा व्यवसाय नै धरापमा पर्ने बताउँदै बिना धितो ऋण दिने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले पुरानै लयमा व्यवसाय फर्किन नसकिरहेको अवस्थामा मनसुनजन्य बाढी तथा डुबानका कारण तयारी सामग्रीसँगै कच्चा पदार्थमा पनि ठुलो नोक्सानी भएको बताइन् । 

यस्तै, व्यवसायी कर्णबहादुर विश्वकर्मले राज्यका विभिन्न कर प्रणालीमा सरकारले साना तथा मझौला व्यवसायीलाई न्याय गर्नुपर्ने धारणा राखे । नेपालमै केही गर्ने जोश लिएर विदेश छोडेर आएका उनले व्यवसाय कर तिर्नेलाई घरबहाल कर तिराउन नहुने बताए ।  

उनले भने, ‘हामीले व्यवसाय कर त तिछौं तर यहाँ त घरबहाल पनि आफैंले तिर्नुपर्ने रहेछ । घरबहाल हामीले तिरिसकेपछि त्यसको घरबहाल कर त घरवालाले तिर्नुपर्ने हो । तर, त्यो रहेनछ । व्यवसायीले नै तिर्नुपर्ने रहेछ । यसले व्यवसाीलाई मार परिरहेको छ । यसबारे सरकारले सोचोस् ।’
 

टिप्पणीहरू