नेपाली र चिनियाँ भाषाका ५० पुस्तक अनुवाद गरिँदै, सी चीनफिङ विचारधारा पहिलो चरणमा

नेपाली र चिनियाँ भाषाका ५० पुस्तक अनुवाद गरिँदै, सी चीनफिङ विचारधारा पहिलो चरणमा

चिनियाँ र नेपाली शास्त्रीय ग्रन्थको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा २६ पुस्तक छनौट गरिएको छ । चीनको सिचुआन प्रान्तको राजधानी छन्तुमा हालै आयोजित समारोहमा ती पुस्तकको नाम सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् अघिल्लो वर्ष दुई मुलुकका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएबमोजिम उक्त प्रक्रिया शुरु भएको हो । जसमा पहिलो चरणमा अनुवाद गरिने १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको छ । 

अनुवाद र प्रकाशनका लागि नेपाली पक्षले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई र चिनियाँ पक्षले सिन्ह्वा विन्सेयर पब्लिसिङ एन्ड मिडिया कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ । त्यसका लागि दुबै पक्षले विज्ञ समिति पनि गठन गरेका छन् । नेपाली विज्ञ समितिका अध्यक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्यमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृष्णराज अधिकारी र हंसावती कुर्मी छन् । 

अनुवादका लागि नेपाली पुस्तकहरुमा लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निवन्ध संग्रह, दौलतविक्रम बिष्टको चपाइएका अनुहार, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यति, बाबुराम आचार्यको नेपालको संक्षिप्त वृत्तान्त, डा. हर्क गुरुङको मैले देखेको नेपाल, ध्रुवचन्द्र गौतमको अलिखित, डा. राजु अधिकारीको यस्तो होस् जीवनशैली, सरुभक्तको चुली, सुलोचना मानन्धरको जीवनबाट जीवन सिकौँ, स्वर्गीय सत्यमोहन जोशीको कलाकार अरनिको, मञ्जुलको जाने होइन दाइ आलापोट ?, जनकलाल शर्माको हाम्रो समाजः एक अध्ययन र डोरबहादुर विष्टको सबै जातको फूलबारी छानिएका छन्् ।

नेपाली भाषामा अनुवाद एवम् प्रकाशनका लागि चिनियाँ पुस्तकहरु रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा, सेभेन्टी इयर्स अफ न्यु चाइना, अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी, द एनोटेटेड क्रिटिकल लाओजी, सेलेक्टेड स्टोरिज अफ जिया दसान, ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना, ह्वाइट डिअर प्लेइन, रेड सर्गम, ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्सी, द ग्रास हाउस, द म्याजिक गर्ड, इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज, अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर हुन् ।

राष्ट्रपति सी चिन फिङको मार्गदर्शनअनुसार चीन सरकारले विभिन्न एसियाली देशसँग शास्त्रीय ग्रन्थको अनुवादका लागि थालेको पहल बमोजिम यी प्रक्रिया अघि बढेको चिनियाँ पक्षले बताएको छ । छन्तुमा गत शुक्रबारदेखि आयोजित पुस्तक मेला हिजो सम्पन्न भएको छ ।

टिप्पणीहरू