बार अध्यक्षविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

बार अध्यक्षविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । 

न्यायाधीशद्वय कुमार रेग्मी र डा.कुमार चुडालको संयुक्त इजलासले आज सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै यो मुद्दालाई अदालतले गम्भीरताका साथ लिएको प्रष्ट भएको छ । 

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ (सात) दिनभित्र आफैं वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नू,’ आदेशमा भनिएको छ । 

न्याय परिषदले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको अध्यक्ष घिमिरेले गम्भीर आरोप लगाएपछि सर्वोच्चका उपरजिष्टार गोविन्द घिमिरेले असोज १४ गते अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए । अफिसर अफ द कोर्टको रूपमा रहेका एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले उनलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग प्रतिवेदनमा गरिएको छ ।

टिप्पणीहरू