रविका कार्यकर्ता र सहकारी पीडितहरु आमनेसामने

रविका कार्यकर्ता र सहकारी पीडितहरु आमनेसामने

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता र सहकारी पीडितहरुले छुट्टाछुट्टै प्रदर्शनको तयारी गरेका छन् । दुबै समूहले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने बताएका छन् । 

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने अस्ति रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई म्याद थपका लागि आज जिल्ला अदालत, कास्कीमा पेश गरिँदैछ । 

रास्वपाले पोखराको विरोध प्रदर्शनमा सहभागी हुन प्रत्येक जिल्लाबाट कम्तीमा एक सय जनालाई बोलाएको बुझिएको छ । पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनपछि पीडित झण्डै १० हजार स्थानीयले पनि भेलाको तयारी गरेपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको बताइन्छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई शान्तपूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् । उनले जिल्लाको सुरक्षा संवेदनशीलतालाई ध्यान दिइएको बताएका छन् । उनले भने, ‘अदालतमा प्रवेश गरिसकेको विषयमा अदालतको निर्णयलाई मान्नुको विकल्प छैन ।’

रविका लागि रास्वपाले अस्तिदेखि गरेको आन्दोलनलाई ‘स्वतन्त्र नागरिकहरूको प्रदर्शन’ भनिएपछि सहकारी पीडितले जिल्ला प्रशासन कार्यालय नजिकैकाे राष्ट्र बैंक चोकमा कार्यक्रम गर्न लागेका हुन् । उनीहरुलाई अन्य पक्षको समेत साथ मिल्ने बताइन्छ । 

रास्वपाले भने सभापतिको पक्षमा नारा लगाउन प्रत्येक जिल्लाबाट कार्यकर्ता पोखरामा उतार्दै छ । केन्द्रीय सचिवालयको निर्देशनमुताविक प्रदेश समितिले जिल्लाबाट कम्तीमा एक सयजना पोखरा पठाउन निर्देशन दिएको छ । रास्वपाले सिडिओ कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने जनाएको छ ।

लामिछाने पक्राउको विषयलाई लिएर दुईपक्षीय प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले संयमता अपनाउन अपिल गरेको छ ।

टिप्पणीहरू