ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट

ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट

सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिन थालेको छ । गृहमन्त्री रमेश लेखकले उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टिभिआरएस) र ई–चलानको शुभारम्भ गर्नुभएको 

उहाँले ई–चलानको प्रयोग सम्बन्धमा स्थलगत अवलोकन समेत गर्नुभएको छ । सो प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रुपमा सेवा प्रदान गर्ने गृहमन्त्री लेखकको विश्वास छ । उहाँले प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो । 

सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउन र सुशासन स्थापना गर्ने कार्यमा सरकार अघि बढेको पनि उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई थप संयमित एवम् इमान्दार भएर सेवा प्रवाहमा अग्रसर हुन पनि निर्देश गर्नुभयो । 

पछिल्लो समय सवारी दुर्घटना चूनौतीको रुपमा देखिरहेकाले यसको न्यूनीकरण, ट्राफिक नियमको पालनालगायत विषयमा अझ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सडक सुरक्षा एंव ट्राफिक व्यवस्थापनकै लागि प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदशी र गुनासोरहित ढंगले सेवा प्रवाह प्रवद्र्धन गर्ने हेतुले डिजिटल चिटको शुभारम्भ गरिएको बताउनुभयो । 

उहाँले त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहने पनि उल्लेख गर्नुभयो । साथै, आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रहरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि निरन्तर काम गर्दै आएको आईजीपी कुँवरले जनाउनुभयो । 

कार्यक्रममा टिभीआरएस प्रणालीको विकासक्रम, ई–चलान कार्यान्वयनको अवस्था, कारबाहीको प्रक्रिया र अन्य नागरिकमैत्री एप्लिकेसनलगायत विषयमा पनि प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशको यातायातमन्त्री प्रेमभक्त महर्जन, गृहसचिव गोकर्णमणि दुवाडीलगायत सहभागी थिए ।

टिप्पणीहरू