सुनिल शर्माको अस्पतालमा नाराबाजी निरन्तर

सुनिल शर्माको अस्पतालमा नाराबाजी निरन्तर
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको सिनामंगलस्थित केएमसी अस्पतालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीहरुले आज पनि धर्ना दिएका छन् । 

अस्पताल प्रशासनले जथाभावी शुल्क असुलेको विरोधमा असोज १ गतेदेखि आन्दोलित विद्यार्थीहरुले आज पाँचौं दिन धर्नालाई निरन्तरता दिएका हुन् । महेश साहको नेतृत्वमा एमबीबीएस सकेर इन्टर्नसीप गरिरहेका झण्डै चार दर्जन विद्यार्थी बिहानैदेखि अस्पतालको प्यासेजमा धर्ना बसेका छन् । 

एमईसीको गाइडलाइनअनुसार इन्टर्नसीपका लागि एकमुष्ट दुई लाख रुपैयाँ शुल्क बुझाएकोमा पढाई सकिएपश्चात् साढे १३ हजार रुपैयाँका दरले क्रमश: फिर्ता हुनुपर्नेमा अस्पताल प्रशासनले नदिएको गुनासो उनीहरुको छ । 

त्यस्तै, एमबीबीएस कोर्सको लागि ३८ लाख रुपैयाँ शुल्क तोकिएपनि अस्पतालले थप चार लाख ९० हजार रुपैयाँ असुलेको विद्यार्थीहरुको भनाइ छ । 

प्रदर्शनकारीहरुले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘इन्टर्नसीप हो कि श्रम शोषण?’, ‘एमईसीको गाइडलाइन लागू गर’, ‘एमईसीभित्र केएमसी कि केएमसीभित्र एमईसी ?’, ‘केएमसी प्रशासन जिम्मेवारी हुनुपर्देन’, लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू