भ्रष्टाचार अधिक हुने जिल्लामा मुछियो कोष तथा लेखा नियन्त्रण कार्यालय

भ्रष्टाचार अधिक हुने जिल्लामा मुछियो कोष तथा लेखा नियन्त्रण कार्यालय
सुन्नुहोस्

सिरहास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखमाथि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले रकम असुलीको आरोप लगाएका छन् । उनीहरुले स्थानीय तहमा कार्यरत लेखा प्रमुखहरूको माध्यमबाट वर्षेनी अनाधिकृत रकम असुली गर्दै आएको दाबी गरेका हुन् । 

एक गाउँपालिका प्रमुखका अनुसार गत आर्थिक वर्ष आफ्नो गाउँपालिकाबाट अर्कै बील मार्फत् लेखा प्रमुखको आडमा कोलेनिका प्रमुखले रकम बुझेको बताए । रकम तोकेर उनले दुई लाख ५० हजार रूपैयाँ निकासा गराएर बुझेको उल्लेख गरे । उनले भने, ‘हाम्रा लेखा प्रमुखले बजेट निकासामा सहज बनाउन, बेरूजु नदेखाउन, अडिट रिपोर्ट बनाउन सहयोग गरेको नाममा कोलोनिका प्रमुखले त्यत्रो रकम देखाए । ’ 

त्यसैगरी अर्को एउटा गाउँपालिका प्रमुखले नाम नखोल्ने शर्तमा कोलेनिका प्रमुखले जिल्लाका सबै स्थानीय तहबाट समान दरमा रकम उठाउने गरेको दाबी गरे । गाउँपालिका प्रमुखले उपलब्ध गराएको अडियो रेकर्डमा रकम माग गरेको आवाज प्रष्ट सुनिन्छ । तर, आवाजको आधिकारिकता भने पुष्टि हुन सकेको छैन ।

सिरहामा १७ स्थानीय तह छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख उपसचिव अशोक कुमार गिरी हुने । उपसचिव गिरी गत बैशाख १६ गतेदेखि कार्यालयमा हाजिर भएका हुन् । यसअघि उनी पशु आयोजना ललितपुरमा प्रमुख थिए ।

आफूमाथि लागेको आरोपबारे प्रमुख गिरीले भर्खरै सरूवा भएर आएको बताउँदै भने, ‘म सिरहामा बैशाख १६ गतेबाट हाजिर भएको हुँ । सरूवा भएर आउनुअघि निमित्त प्रमुख रामनाथ साह थिए । सबै वहाँलाई जानकारी होला ।’ साहले तत्कालीन कार्यालय प्रमुख ध्यानकुमार राईको अवकाशपछि आफूले बाध्य भएर चार महिना निमित्त प्रमुखको जिम्मेवारी सम्हालेको जानकारी दिए । उनी २०८० पुष १६ देखि गत बैशाख १५ सम्म निमित्त प्रमुखको जिम्मेवारीमा थिए । 

अवकाशप्राप्त राईले २०७८ चैत २४ देखि २०८० पुष १४ सम्म दुई आर्थिक वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका थिए । चार महिना निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका साहको भनाई छ, ‘ग्राउण्ड जिरोमा रिपोर्टिङ् गर्नुहोस् , दूधको दूध, पानीको पानी छर्लङ्ग हुन्छ । म स्वतन्त्र प्रेसको सम्मान गर्ने मान्छे हुँ ।’

सिरहाका एक नगरपालिका प्रमुखले आफ्ना लेखा प्रमुख मार्फत् प्रत्येक आर्थिक वर्ष कोलेनिका प्रमुखका नाममा लाखौं निकासा हुँदै अाएको दाबी गरे । अन्यथा रकम निकासामा झञ्झट उत्पन्न गराइदिने उनको अनुभव छ । 

जनप्रतिनिधिहरूले गम्भीर आरोप लगाएपछि कोलेनिका प्रमुख विवादमा तानिएका  हुन् । यसबारे बर्दिबासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख रामबहादुर काराम्वाङले उजुरी परेको तर अनुसन्धान भइरहेको आशय व्यक्त गरेका छन् ।

आयोगका पछिल्ला वार्षिक प्रतिवेदनमा सिरहामा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको उल्लेख छ ।

टिप्पणीहरू