अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान
सुन्नुहोस्

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीहरुलाई आह्वान गरेका छन् । 

युएस चेम्बर अफ कर्मशद्धारा वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा उनले नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालमा उत्पादन गरी विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले विदेशी लगानीकर्ताको ध्यानाकर्षण गराए । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिदबिक्री सम्झौतालगायतका कारण पनि नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ । 

भारतसँग भएको दश हजार मेगावट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको पनि ढकालले अमेरिकी लगानीकर्तालाई जानकारी दिए । नेपालमा प्रकृति र संस्कृतिको मिश्रण रहेको जनाउँदै उनले पर्यटन पूर्वाधारमा लगानी गर्नसमेत आह्वान गरे । 

कार्यक्रममा अध्यक्ष ढकालले लगानी सहजीकरणका लागि महासंघले एफडिआई हेल्प डेस्क स्थापना गरेको पनि जानकारी गराए ।

टिप्पणीहरू