क्वाङ्सीमा हस्तान्तरित झण्डासहित पत्रकार टोली पेइहाईमा

क्वाङ्सीमा हस्तान्तरित झण्डासहित पत्रकार टोली पेइहाईमा
सुन्नुहोस्

चीनको क्वाङ्सी च्वाङ प्रान्तीय राजधानी नानिङ स्वायत्त क्षेत्र पुगेका विदेशी पत्रकारहरुको टोलीलाई भ्रमण अवधिका लागि झण्डा हस्तान्तरण गरिएको छ । ‘चीनमा अवसर: चित्ताकर्षक क्वाङ्सी’ कार्यक्रमअन्तर्गत विशेष महत्वका स्थानको अवलोकन भ्रमणक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय प्रचार विभाग उपप्रमुख तथा सूचना कार्यालय निर्देशक लि पानले झण्डा हस्तान्तरणसङ्गै कार्यक्रम शुभारम्भ गर्नुभएको छ । 

चार दिने अवलोकन भ्रमणमा चीनसहित नेपाल,कजाखस्तान, रुस,इटाली,थाइल्याण्ड, मलेसियालगायत मुलुकका डेढ दर्जन पत्रकार सँलग्न छन् । हिजो बिहान आयोजित समारोहमा बोल्दै निर्देशक लिले क्वाङ्सी प्रान्तले हासिल गरेका दिगो तथा हरित विकासले समग्र जलवायुमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘चीनमा लगानीको प्रचुर सम्भावना छ । यसले अवसरलाई बढाएको छ । त्यस्तो अवसर क्वाङ्सीमा पनि प्रशस्त रहेको अवस्थालाई प्रत्यक्ष रुपमा अनुभव गर्नुहोला । "

कार्यक्रममा ‘मिडिया एण्ड ओभरसिज:जेड जेनेरेसन’ माथि इटाली र मलेसियाका सहभागीहरुले प्रकाश पारेका थिए । कार्यक्रम शुभारम्भको झण्डा कजाखस्तानका पत्रकार तथा त्यहाँको औद्योगिक समाचार पत्रका प्रधान सम्पादक सेरिक कोरजुम्बायेभलाई हस्तान्तरण गरिएको थियो ।

टोलीले दिउँसो छिन्चौ शहर र पेइपु गल्फ पोर्ट (बन्दरगाह) भ्रमण गरेको छ । छिन्चौमा निर्माणाधीन चार करोड २८ लाख चिनियाँ युआन बजेटको छिङनियान जल बृहत परियोजना अवलोकन गराइएको छ । परियोजना सम्बद्ध अधिकारीहरुले चीनले दीर्घकालीन जैविकमैत्री आयोजनालाई ध्यानमा राखेर बनाइएका मेघा परियोजनामध्ये छिङनान पनि एक भएको बताएका छन् । समुन्द्रसँग जोडिएको उक्त परियोजना पूर्ण भएपछि नहर भएर पानी जहाज सजिलैसँग शहर नजिकैसम्म आइपुग्ने,डल्फिनसमेत नहरमा पौडिनसक्ने उपयुक्त ढोका बनाइएको छ । उक्त परियोजनास्थलको भित्तामा चिनियाँ कम्युनिष्ट पार्टीको विशाल झण्डा राखिएको छ ।

त्यस्तै छिन्चौ शहरको अत्याधुनिक बेइपु गल्फ पोर्ट (बन्दरगाह) को बारेमा पनि पत्रकारहरुलाई जानकारी दिइएको छ । सियामनपछि उक्त बन्दरगाह मानवरहित प्रणालीबाट सामान लोड तथा अनलोड गर्ने अटोमेटिक सिस्टम अपनाएको पाँचौं हो । राष्ट्रपति सि जिनपिङले अघिल्लो वर्ष गर्नुभएको बन्दरगाह टर्मिनलमा अत्याधुनिक प्रविधि प्रयोगको अवलोकनले सबैमा ऊर्जा थपिएको भनी कार्यालयको मूलद्वारमा फोटोसँगै लेखिएको छ ।

 

उक्त बन्दरगाहको अत्याधुनिक प्रविधि प्रयोगमा हालसम्म छ करोड ४२ लाख युआन खर्च भइसकेको छ । उच्च प्रविधिमध्ये करिब ९५ प्रतिशत चीनमा नै बनेका हुन् । 

साँझ प्रख्यात समुन्द्री शहर पेइहाइको पार्टी नगर कमिटीका प्रमुख तथा नगर स्थायी समिति सदस्य चङ तिङसोङले स्वदेशी तथा विदेशी मिडियाकर्मीहरुको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । कमिटीका उपप्रमुख सु युआनसिन र २१ औं शताब्दी च्यानलका प्रमुख सम्पादक थिआन वेनसहितको उपस्थितिमा प्रमुख चङले सुन्दर पर्यटकीय नगर पेइहाईमा पाहुना टोलीलाई स्वागत गर्नुभयो । 

पेइहाई दक्षिणी चीनको प्रमुख सामुन्द्रिक किनारको पर्यटकीय नगरका साथै परापूर्वकालमा सिल्करोडको प्रमुख बन्दरगाह शहर पनि हो । चीनको पहिलो लटमा खुलेका सामुन्द्रिक तटीय शहरहरुमध्येको एक रहेको पेइहाईलाई चीनमा ऐतिहासिक र सांस्कृतिक शहरको रुपमा लिइन्छ ।

टिप्पणीहरू