यो पैसामा पाइने हात हो र सर ?
रोल्पामा शिक्षकको कुटपिटबाट एक बालकको हात भाँचिएको घटना लुकाउन विद्यालयका प्राध्यानाध्यापक, जनप्रतिनिधि र प्रहरीले मिलेमतो गरेको पाइएको छ ।
घटना गत भदौ ६ गतेको हो । रुन्टीगढी गाउँपालिका-९ सखीस्थित सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत विराज बिक शौचालय जाँदै थिए । त्यत्तिकैमा शिक्षक चन्द्रज्योती सेजुवालले ‘किन बाहिर निस्केको ?’ भन्दै कपालमा समातेर हुत्याउँदा भुइँमा पच्छारिए ।
अशक्त शरीरसहित साँझ घर फर्केका विराजले राति हात दुख्यो भन्दै रुवाबासी रुन थालेपछि बाबु रेशमले घटनाबारे जानकारी पाए । भोलिपल्ट बिहानै उनलाई उपचारका लागि होलेरी स्वास्थ्य चौकी लगियो । एक्सरे रिपोर्टबाट हात भाँचिएको थाहा भयो ।
रेशमले विद्यालय पुगेर प्राध्यानाध्यापकलाई शिक्षक चन्द्रज्योतीको कारण छोरोको हात भाँचिएको कुरा सुनाए । तर, प्रधानाध्यापक र शिक्षकले घटनाबारे बाहिर नबोल्न भन्दै १० हजार थमाइदिए । रेशम भन्छन्, ‘छोरोको हात भाँचिएको छ, त्यसको पीडा त हुने नै भइहाल्यो, तर सरहरुले जुन तरिकाले घटना लुकाउन खोज्नुभयो, त्यसले झन् पीडा दियो ।’
नेपालगञ्जको वेस्टर्न हस्पिटलमा छोराको थप उपचार गराएको र ६० हजार खर्च भएको रेशम बताउँछन् ।
छोरोको हात भाँचिएको केही दिनमै रेशम शिक्षक चन्द्रज्योतीविरुद्ध इलाका प्रहरी कार्यालय होलेरीमा जाहेरी दिन जाँदा इन्सपेक्टर रोहितकुमार शाहीले दर्ता गर्न मानेनन् ।
छोरोको उपचारमा व्यस्त रेशम केही दिनअघि फेरि जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय, लिवाङ गए । त्यहाँ पनि होलेरीका उनै इन्सपेक्टर शाहीसँग भेट भयो । शाहीको केही हप्ताअघि मात्रै होलेरीबाट लिवाङ सरुवा भएको थियो ।
‘म पनि पीडित भइसकेँ । अहिलेसम्म मेरो ७० हजार खर्च भइसक्यो । अब कति गर्ने हो र ?’
इन्सपेक्टर शाहीले जिल्लामा पनि कुटपिटको जाहेरी दर्ता नहुने भन्दै फर्काए । रेशम सुनाउँछन्, ‘उता होलेरीको इन्सपेक्टर लिवाङ पुगेका रहेछन्, कुटपिट र अंगभंगको केश हामीले हेर्न मिल्दैन भनेर हप्काउँदै फर्काए ।’
जिल्ला सरकारी वकिलको कार्यालयमा पनि घटनाबारे विस्तृत जानकारी दिएको रेशम बताउँछन् । ‘तर त्यहाँ पनि इन्सपेक्टर शाही आएर प्रक्रिया अघि बढाउन दिएनन्’, उनले भने ।
कतिसम्म भने, घटनाबारे मिडियामा बोल्छु भनेपछि केही जनप्रतिनिधिले समेत नबोल्न दबाब दिएको रेशमको गुनासो छ । शिक्षक चन्द्रज्योतीलाई कानुनी कारवाही हुनुपर्ने र छोरोले क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ ।
भन्छन्, ‘छोरोको हात भाँचिदिने शिक्षकलाई कानुनी कारवाही हुनुपर्यो, उपचार खर्च र क्षतिपूर्ति पाउनुपर्यो ।’
के भन्छन् शिक्षक र प्रहरी ?
शिक्षक चन्द्रज्योतीले भने विराजका बाबु रेशमले आवश्यकभन्दा बढी क्षतिपूर्ति मागदावी गरेको जिकिर गरेका छन् । नेपालगञ्जमा गरिएको सबै उपचार खर्च आफूले व्यहोरेको दावी गर्दै भन्छन्, ‘म पनि पीडित भइसकेँ । अहिलेसम्म मेरो ७० हजार खर्च भइसक्यो । अब कति गर्ने हो र ?’
त्यस्तै, इन्सपेक्टर शाहीले भने दुवै पक्षबीच छलफल गराएर समाधानको विकल्प खोज्न जाहेरी तत्काल दर्ता नगरिएको बताए । ‘दुवै पक्ष एकै ठाउँका हुन् । छिमेकीजस्तो । मर्दापर्दा चाहिन्छ । सकेसम्म छलफल गराएर समाधान गरौँ भनी दर्ता नगरेको हो,हामी चाँडै समाधान निकाल्छौं’, उनले भने ।
कानुनमा के छ ?
ऐनमा बालबालिकामाथि कुनै पनि किसिमको दुर्व्यवहार तथा यातना दिन नपाइने व्यवस्था छ ।
बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।
यदि कुनै बालबालिकाको शरीरमा चोट पुर्याएमा सोही ऐनको दफा ७२ अनुसार तीन वर्ष कैद र ७५ हजार जरिवाना हुनसक्ने व्यवस्था छ ।
टिप्पणीहरू