रविवारे खुल्दैछन् एकपछि अर्को रहस्य
‘सहकारी ठगी प्रकरण’मा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र उपाध्यक्ष छविलाल जोशीउपर हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढेलगत्तै मलेसियामा "लुकी बसेका’ गोर्खा मिडियाकै अध्यक्ष जिबी राई र उनीनिकट भनिएका कतिपय व्यक्ति उता र यताबाट सक्रिय हुन थालेका छन् । पूर्वगृहमन्त्री रविकै कारण ‘ज्यान जाने डरले आफू भाग्नु परेको’ र सहकारी ठगीको अनुसन्धानमा सघाउन नसकेको जिबीले जनाएका छन् । सोमबार दिउँसो जनआस्थाको सम्पर्कमा आएका जिबी र रबिको पूर्व सहयोगीसमेत रही अहिले देशबाहिर बस्दै आएका एकजना व्यक्तिले ग्यालेक्सी टेलिभिजन खोल्नुअघि ठमेलको ‘होटेल मनाङ्ग’मा बसेको मिटिङसम्वन्धी जानकारी दिएका छन् । उनका अनुसार कोभिडको बन्दाबन्दीअघि,ग्यालेक्सी टेलिभिजन खोल्नुअघि रवि,छविलाल जोशी र दिपक बोहोरा जिबीको टोलीलाई भेट्न ठमेल पुगेका थिए । त्यो बैठकमा रवि समूहले जिबीलाई ग्यालेक्सी खोल्न मात्र हौस्याएन,सहकारीको पैसा ल्याउने उपाय र ६ महिनाभित्र ‘झण्डै एक अर्ब रकम उठाउने सपना’ पनि देखायो । ‘उतिबेला रविको कस्तो रहरलाग्दो क्रेज थियो ! उनका पछि कम्ता मान्छे थिए ? यही देखेर जिबी राई सहकारीको पैसा खन्याउन तयार भए,’ ती सहयोगीले भने ।
०००
उनी भन्छन्-जिबी नराम्रो मान्छे होइनन्,सहयोगी नै थिए । माग्नेलाई सजिलै ऋण दिन्थे । त्यसो त आफ्नो नेटवर्किङ्ग कारोवारमा "सीधा कुरा"बाट सेकिइसकेका जिबी रविबाट फेरि पनि आक्रमण हुनसक्ने डरले तर्सिएका थिए,आकर्षक प्रस्तावबाट प्रभावित पनि भए । ‘जिबीको सहयोगी स्वभावको रविले मज्जैसङ्ग फाइदा उठाए,’उनी भन्छन् । रविले जिबीलाई २ सय जना मारवाडीको नाम देखाए,तिनले खोलेका बैंकहरुबाट समेत टिभी खोलेपछि सय करोड रकम उठाउने सपना देखाए । रबि जिबीलाई भन्थे, ‘मारवाडीहरू सबै तस्कर हुन् । यिनीहरूलाई तर्सांउँदै २ सय करोड उठाउन सकिन्छ । पहिले टेलिभिजन खोलौँ । पैसा ६ महिनामै उठ्छ ।’न्युज 24 का साहुजी अनिल जोशीसङ्ग अघाइसकेका रवि घमण्डका साथ भन्थे—"मैले भन्दा सबैले विज्ञापन र पैसा दिन्छन् ।" जिबी र रविका ती पूर्व सहयोगीको दाबी छ- सहकारीको पैसा ग्यालेक्सीमा खन्याउने मुख्य योजनाकार उनै रवि हुन् । हायात र र्याडिसनमा टिभी लन्चिङ्गको मदिरा पार्टीका निम्ति करोडौं खर्च कहाँबाट आयो ?
०००
कतिसम्म भने रवि लामिछानेले गृहमन्त्री हुनेबित्तिकै श्यामलाल ज्ञवालीलाई तुरुन्तै सिआइबीमा लगे । त्यतिबेला रास्वपाका केन्द्रीय सदस्य मोहनजङ्ग थापा अमेरिकाबाट पैसा उठाउन काठमाडौँ ओर्लिसकेका थिए । उनी हुन्डीमार्फत् अमेरिकाबाट नेपाल पैसा ओसारपसार गर्थे । रविको पैसा उठाउने मुख्य नाइके मोहन नै मानिन्छन्,जसको बारेमा ढाकाकुमार श्रेष्ठले पनि पोल खोलिसकेका छन् । उनी अहिले अमेरिकामै छन् तर रवि मन्त्री बन्नासाथ नेपाल आइहाल्छन् । गृहमन्त्री भएपछि पनि रविले छाडेनन् जिबी राईबाट पैसा उठाउन । ‘तिमी त्यतै बस,यता सहकारीको मुद्दा मिलाउँछु’ भन्दै झण्डै ९ करोड फेरि लिए । राईले पनि खुरुखुरु त्यो माग पुरा गरिदिए । त्यो पैसा श्याम ज्ञवालीमार्फत् दुबई र मोहन थापामार्फत् अमेरिका पुगेको जिबीनिकटहरूको दाबी छ । यसवीच रविका नाममा रहेको पहिलो पत्नी इशा श्रेष्ठ र दुई छोरी बस्ने अमेरिकाको घरको लोन पनि चुक्ता भइसकेको छ-मोहनमार्फत् नै । अनि,श्याम ज्ञवालीमार्फत् ससुराली खलकको स्वामित्वमा रहेको गोपीकृष्ण हलको लोन पनि गृहमन्त्री भएकै बेला बैंक र व्यापारी तर्सांउँदै मिलान गरिएको स्रोतको दाबी छ ।
टिप्पणीहरू