उपत्यकामा धान भित्र्याउने चटारो

उपत्यकामा धान भित्र्याउने चटारो

तिहार शुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छ । मंसिर लाग्न नपाउँदै धान पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा व्यस्त देखिन्छन् । 

तिहारअघि नै धानबाली भित्र्याउने उनीहरुको तयारी छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसानलाई पनि यतिबेला धान भित्र्याएर भ्याइनभ्याइ भएको छ । उनीहरुले पोखरेली, ताइचिन र मसिनो धानको खेती गर्दै आएका छन् । 

खोकनामा बसोबास गर्ने अधिकांश मानिस कृषिमा आश्रित छन् । तर, काठमाडौं–निजगढ द्रुतमार्गलगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेतीमा कमी आएको उनीहरु बताउँछन् । 

आवास क्षेत्र घोषणा गरेपश्चात् सरकारले मल र बिउ नै दिन छोडेको उनीहरुको गुनासो छ । विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आउन सक्ने किसानहरुको दुःखसो छ । 

खोकनाका किसान सद्धिचरण डंगोलले खेती गर्ने जग्गा आवास क्षेत्र बनाएसँगै सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गरे । भने, ‘पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ ।’

बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए । भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने उनको भनाइ छ । 

अर्का कृषक रामकृष्ण महर्जनले समयमै रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी भएको बताए । विगतको तुलनामा धान उत्पादनमा निकै कमी आएको उनी बताउँछन् ।

टिप्पणीहरू