सँघीयता खारेजीको माग राख्दै काङ्ग्रेस सभापति

सँघीयता खारेजीको माग राख्दै काङ्ग्रेस सभापति
सुन्नुहोस्

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको गुनासो गरेका छन् । 

संघले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा संघीयता असफल हुने खतरा बढेको उनले बताए । नेपाल प्रेस युनियन रूपन्देहीद्वारा हिजो बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुनले प्रदेशलाई अधिकारसम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भैरहेको उल्लेख गरे । 

राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनमा रहेको केन्द्रिकृत मानसिकताका कारण जनताले संघीयताको अनुभूति गर्न नपाएको धारणा उनले राखेका छन् । स्थानीय तहका जनता तथा कार्यकर्ताको भावना र समस्या बुझ्न आफूले 'सभापतिसँग पालिका संवाद' कार्यक्रम लिएर स्थानीयस्तरमा पुगेको सभापति पुनले जानकारी दिए । 

त्यस क्रममा जनस्तरबाट पनि संघीयताको अनुभूति गर्न नपाएको गुनासो आएको उनले सुनाए । राजनीतिक नेतृत्वले केन्द्रिकृत मानसिकता त्यागेर जनताका आवश्यकता र मागहरू सम्बोधन गर्नुपर्नेमा पुनले जोड दिए ।

जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गर्दै भने – 'कि संघीयताको मर्म र भावनाअनुसार चल्नुपर्छ, संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ ।"

प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने उनको भनाइ छ ।

 

टिप्पणीहरू