सर्वोच्च अदालत आज पनि सँकुचित,नारा लाउन अझै छुट
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ ।
सहकारी ठगीमा पक्राउ परेका उक्त पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा सडक प्रदर्शनमा उत्रिएर सांसदहरुले न्यायिक प्रक्रिया अवरुद्ध पार्न खोजेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गर्न लगेको निवेदन रजिष्टार विमल पौडेलले दर्ता गर्न आनाकानी गरेका हुन् ।
आइतबार दर्ताका लागि पेश भएको अवहेलनासम्बन्धी निवेदन हिजोसम्म 'होल्ड' मा राखेको सर्वोच्च प्रशासनले आज पनि दर्ता गर्न नमानेको निवेदक भट्टराईले बताए । मिडियामा समाचार लेखाएको भन्दै असन्तुष्टि जनाएका रजिष्ट्रार पौडेलले भोलिको भाखा दिएको बताइएको छ ।
अधिवक्ता भट्टराईले न्यायिक प्रक्रियालाई अवरुद्ध पार्नेगरी रास्वपा सांसदहरुले जुलुस,धर्ना गरेको र उक्त कार्य अदालतको अवहेलना हुने दाबी गरेका छन् । आफैँ कानुन निर्माता भएर सांसदहरुले गरेको यस्तो कार्य नेपालको संविधान र कानुनविपरित हुनुका साथै अदालतको मानहानी भएको निवेदनमा उल्लेख छ ।
लामिछाने पक्राउविरुद्ध सडकमा उत्रिएका रास्वपाका नेता-कार्यकर्ताले पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश कृष्णजंग शाहमाथि दलीय पक्षधरताको आरोप लगाएका थिए । त्यस्तै, न्याय सम्पादनलाई नै प्रभाव पार्नेगरी म्याद थप नगराउन कास्की जिल्ला अदालतअगाडि नाराबाजी गरेका थिए भने सर्वोच्चअगाडि माइतीघर मण्डलामा सो क्रम जारी नै छ ।
पक्राउ पुर्जी जारी गर्ने जिल्ला न्यायाधीश आक्रमणको निशाना बनिरहेका छन् । तर, 'सिधा कुरा अनलाइन' विरुद्ध आफैँले हत्तपत्त मुद्दा हालेको सर्वोच्च प्रशासनले सडकबाट न्यायाधीशमाथि आरोपित गर्ने सांसदविरुद्धको मुद्दा दर्ता गर्न आलटाल गर्नुलाई अचम्मै मानिएको छ ।
सर्वोच्चका न्यायाधीशल़ाई कसैले छिसिक्क भन्दा आफैं अग्रसर भएर अवहेलनाको निवेदन दर्ता गर्ने रजिष्टारहरुले जिल्लाका श्रीमान्को हकमा दोहोरो मापदण्ड अपनाएको यसबाट प्रष्ट भएको छ ।
टिप्पणीहरू