सहकारीको पैसा फर्काउने उपाय रास्वपाले दिने

सहकारीको पैसा फर्काउने उपाय रास्वपाले दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल 'डिपी'ले सहकारी पीडितको पैसा तीन महिनाभित्र फिर्ता गर्न सकिने आधार आफूसँग रहेको बताएका छन् । 

सहकारीको बचत हिनामिना आरोपमा पक्राउ परेका रवि लामिछाने रिहाइको माग गर्दै आज भएको विरोध प्रदर्शनमा उनले पैसा फर्काउने उपाय सुनाएका हुन् । उनले साँचै सहकारी पीडितको समस्या हल गर्न चाहेको भए तत्काल अधिकारसम्पन्न प्राधिकरण वा समिति  गठन गर्न सरकारलाई सुझाव दिए । 

‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ, सदनमा कुरा उठायौँ, त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ’, अर्यालले  भने, ‘सरकारलाई मेरो अनुरोध, एउटा प्राधिकरण वा समिति बनाओस्, त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ ।’

जारी विरोध प्रदर्शन सभापति लामिछानेको पक्षमा मात्र नभएको पनि उनको तर्क छ । थपे, ‘हामी रवि लामिछाने एउटा व्यक्तिको पछि लागेका छैनौं, यो त एउटा अभियान हो, आफैँमा आन्दोलन हो, यो जनताको आशा हो ।’

प्रमाण नष्ट नगर्ने र भागेर नजाने व्यक्तिलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिने कानुन हुँदाहुँदै सरकारले रविमाथि अपराधिक नियत राखेको अर्यालको दाबी छ ।

टिप्पणीहरू