काठमाडौँमा फूल किन्ने ठाउँ तोकियो

काठमाडौँमा फूल किन्ने ठाउँ तोकियो

काठमाडौं महानगरपालिकाले तिहारमा स्वदेशी फूलको प्रयोग बढाउन बेचबिखनका लागि निश्चित स्थान तोकेको छ । 

महानगर क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीवितरण प्रबन्ध गरिएको हो । मेयर बालेन्द्र शाह (बालेन) ले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री किनबेचमा रोक लगाएको जानकारी गराउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको बताए । 

गएको वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारीसाधन पनि उपयोग गरिएको थियो । 

गत वर्षको सिकाई र अभ्यासबाट यो वर्ष फूल बिक्रेता किसानलाई सहज हुने महानगरले जनाएको छ । मेयर बालेनका अनुसार स्वदेशी फूल बेचबिखनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरुमा समेत व्यवस्था मिलाइएको छ । 

माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, बालाजु भाटभटेनी, बालाजुको भ्याली कोल्ड स्टोर, सामुदायिक भवन, स्वयम्भुको धर्म चक्र पार्क, स्वयम्भु मार्ट, कलंकीस्थित भाटभटेनी, कलंकी ट्रेड सेन्टर, एसएनएस, एनबिटिसिमा, खुशिँवुस्थित नेपा व्याङ्क्वेट, कालधारा, बिग मार्ट, पकनाजेल फूल बेचबिखन गर्न सकिने छ । 

त्यस्तै, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, सुन्धाराको काठमाडौं मल, सिभिल मल, सिटिसि मल, नयाँ सडकस्थित रञ्जना मल, अनामनगरको बिग मार्ट कम्प्लेक्स, भाटभटेनी, न्यू प्लाजास्थित एटी कम्प्लेक्स, कमलादीको आइटी प्लाजा, टेवहालस्थित संकटा चोक, चावहिलको केएल टावर, बौद्धस्थित बिएण्ड एसएममा पनि फूल बिक्री गर्ने व्यवस्था मिलाइएको छ । 

शंखमुलको भर्गो जापान, बिगमार्ट, नयाँ बानेश्वरस्थित एनबि सेन्टर, बत्तीसपुतलसीको फोनिक्स टावर, चावहिल फुटबल चौर र गणेशस्थान, कोटेश्वरको बिबिएसएम, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, एसि कम्प्लेक्स, कोटेश्वर भाटभटेनी, नक्सा भाटभटेनी, बालुवाटार बिग मार्ट, महाराजगञ्ज सेल्स बेरी, भाटभटेनी, कोइराला मार्ट, सामाखुशी भाटभटेनी, सिटी सेन्टर, ल्होत्से मल र सासा ब्याङकेटमा पनि फूल बिक्री गर्न सकिने छ । 

स्वदेशी फूल व्यापारी किसानहरुले आफुलाई पायक पर्ने स्थान छनोट गर्न फूल बिक्री गर्न सक्ने महानगरले जनाएको छ । आवश्यक सहयोगका लागि महानगरको निःशुल्क नम्बर ११८० वा नगर प्रहरीको हटनम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने छ ।

 

टिप्पणीहरू