चितवनमा देउसी खेल्दा राजनीति गर्न नपाइने
चितवनमा यस वर्ष देउसी-भैलो खेल्दा राजनीतिक विषय उठाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै त्यस्तो आदेश गरेको हो । त्यस्तै, राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने सूचनामा उल्लेख छ ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगानलगायत सांस्कृतिक क्रियाकलापहरु बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने सिडिओ कार्यालयको भनाइ छ ।
त्यस्तै, जुवातास, लङ्गुखुर्जा खेल्ने, भुईँचम्पा, पटका र आतिसबाजीजस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बेचबिखन तथा प्रयोग पनि निषेध गरिएको छ । मादक पदार्थ सेवन गरी शान्ति सुरक्षा एवं सर्वसाधारणलाई असर पर्ने सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्नेजस्ता कार्य नगर्न भनिएको छ ।
‘भीडभाड तथा हुलहुज्जतजस्ता गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप नगर्ने,’ सूचनामा उल्लेख छ, ‘अखाद्य रंग मिलाइएका मिठाई, झिलाङ्गे रोटीजस्ता अस्वस्थ र गुणस्तरहीन खाद्य वस्तुको बिक्रीवितरण र उपभोग नगर्ने नगराउने ।’
म्याद गुज्रेका भाइमसला, प्लास्टिकजन्य फूलमालालगायत कानूनले आयात र प्रयोग गर्न निषेध गरेका वस्तुहरुको प्रयोग र बेचबिखन नगर्न नगराउन पनि सिडियो कार्यालयले सचेत गराएको छ ।
टिप्पणीहरू