साम्बामाथि एन्फाको किन यस्तो व्यवहार ?
खेलमा हार-जित स्वभाविक हो, तर कुनै कुनै हार स्वीकार गर्न कठिन हुन्छ । हिजो नेपाली महिला फुटबल टोलीले व्यहोरेको पराजय त्यस्तै एउटा हार हो ।
हिजो साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलमा नेपाली टोली बंगलादेशसँग पराजित भयो । लगातार दोस्रो संस्करण फाइनल पुगेको नेपालले उपाधि रक्षा गर्न चुकेपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा कतिपयले खेलाडीहरुलाई निरुत्साहित नहुन हौसला दिइरहेका छन् भने अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारको चर्को आलोचना भैरहेको छ ।
वर्षभरी खेलाडीको वास्ता नगर्ने तर, ठूला प्रतिगोतिमा परिणाम खोज्ने नेपाली खेल क्षेत्रको नियति नै हो । फुटबल, क्रिकेट, भलिबलजस्ता सम्भावना भएका खेललाई राज्यले न प्राथमिकतामा राखेको छ, न खेलाडीमा लगानी । तर, पनि खेलाडीको अथक मेहनतको बलमा नेपालले ठूलठुला उपाधि हात पार्दै आएको छ ।
एक महिनाअघि मात्रै खेलाडीलाई लञ्च गर्दा साफ महिला फुटबलको उपाधि गुमाउनु परेको खेलकुदविद् विनय श्रेष्ठ बताउछन् । उनका अनुसार सरकारले खेल क्षेत्रलाई सौतेनी व्यहार गर्दै आएको छ ।
विदेशी राष्ट्रहरुमा राष्ट्रिय खेलाडीको लागि सरकारले नै गाँस, बास, कपाससहित परिवारको समेत जिम्मा लिने गरेको श्रेष्ठले सुनाए । थपे, ‘अनि यहाँ हाम्रो सरकारको पारा कस्तो छ देख्नु भएको होला नि । लगानी छैन, प्राथमिता छैन, व्यस्थापन छैन, दिर्घकालिन तयारी छैन, अनि तनिजामात्रै ठूलो खोज्ने !’
त्यसो त, हिजोको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक पनि रंगशाला पुगेका थिए । तर, युवाहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरे ।
प्रधानमन्त्रीविरुद्ध अश्लिल नाराबाजी लागेका कारण खेल प्रत्यक्ष प्रशारण गरिरहेको ब्रोडकास्ट च्यानलले आवाज नै म्युट गर्नुपर्यो । यद्यपि, रंगशालामै पुगेका कतिपयले नाराबाजीको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिसकेका छन् ।
हिजोको खेलपछि दर्शकले अखिल नेपाल फुटबल संघ (एन्फा)को पनि चर्को आलोचना गरिरहेका छन् । राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी उर्फ साम्बा व्यावसायिक फुटबल खेल आजै फ्रान्स गएकी छन् । बंगलादेशसँग २–१ ले पराजित भएको १० घण्टापछि उनी फ्रान्स उडेकी हुन् ।
भण्डारी फ्रान्सेली महिला फुटबल क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने, भण्डारी व्यवसायीक फुटबलको लागि फ्रान्स उडिन्, त्यो अनौठो कुरा होइन । तर, उनको बिदाइका लागि एन्फाका प्रतिनिधि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएनन् ।
कुनैबेला भण्डारी विदेशमा खेलेर नेपाल आउँदा स्वागतको लागि एन्फाका सबै पदाधिकारी र कर्मचारी एयरपोर्टमा लाइन लाग्थे । तर, पराजयको पीडा बोकेर विदेश उडेकी उनको बिदाईमा एन्फाबाट एक जना पनि एयरपोर्ट नपुग्नु दु;खद कुरा हो ।
खेलमा हार जित जे भए पनि एन्फाले खेलाडीहरुलाई यस्तो अपमानित व्यवहार गर्न मिल्दैन/सुहाउँदैन । तर एन्फाले भण्डारीमाथि अपमानित व्यवहार गरेको टिमका खेलाडी नै बताउछन् । एक खेलाडी भन्छिन्, ‘सावित्रा दिदी एक्लै जानुभयो एयरपोर्ट, हिजोको खेलमा हामीले नै जित्छौ भनेर धेरै अपेक्षा थियो । तर, त्यो भएन । सबै निराश हुनुभयो । त्यसैले हो कि ! तर जे भए पनि दिदीलाई छाड्न कम्तिमा कोही सरहरु एयरपोर्ट गएको भए हुन्थ्यो !’
टिप्पणीहरू