बमको हल्लापछि नयाँ दिल्ली उड्न लागेका यात्रु आइसोलेसनमा

बमको हल्लापछि नयाँ दिल्ली उड्न लागेका यात्रु आइसोलेसनमा

एअर इण्डियाको काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न लागेको विमानमा बम राखिएको हल्लापछि एक सय ६० जना यात्रुलाई विमानबाट झारिएको छ । आज दिउँसो पौने ४ बजे उड्न ठिक्क परेको एआई २१५ उडान नम्बरको विमानमा बम रहेको जानकारी इमेलबाट दिइएको थियो । 

एयर इण्डियाको कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई साढे ४ बजे उक्त जानकारी दिएपछि दिल्ली प्रस्थानको लागि विमानमा चढिसकेका ती यात्रुलाई छुट्टै आइसोलेसनमा राखिएको बताइन्छ । त्यसपछि विमान र यात्रुको ब्यागेजलाई नेपाली सेनाको सुरक्षा टोलीले पुनः चेक जाँच गरेको थियो । 

यात्रुलाई पनि दोहोर्याएर सुरक्षा जाँच गरेपछि साँझ उक्त विमान नयाँ दिल्ली उडेको हो । दुई साताअघि नयाँ दिल्लीबाट आएको एअर इण्डियाको विमानमा बम रहेको ह्वाट्सअप मेसेजपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएर आवश्यक चेक जाँच गराइएको थियो ।
 

टिप्पणीहरू