भाइटीकाको साइत ११ः३७ बजे, रानीपोखरीमा बिहानैदेखि भीड

भाइटीकाको साइत ११ः३७ बजे, रानीपोखरीमा बिहानैदेखि भीड

तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीकाको तयारी गरिएको छ । टीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी टीका लगाएर भाइटीका मनाइँदैछ । यमद्वितीया पनि भनिने आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउँछन् । 

समितिले आज दिनभर टीका लगाउन कुनै बाधा नभएको र भाइटीका लगाइदिने दिदी बहिनी पूर्व र लगाउने भाइ तथा दाजु पश्चिम फर्कनुपर्ने जनाएको छ । शास्त्रीय मान्यता अनुसार तिहारमा टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख छ ।

आज बिहानदेखि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड लागेको छ । आजैका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर परिसरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू भाइटीका लगाउँछन् । 

पशुपति मित्रपार्कको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि त्यस्तो टीका लगाउने गरिएको छ ।

टिप्पणीहरू