रविलाई भैरहवा ल्याइदिन रुपन्देही प्रहरीको आग्रह
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तगा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवासम्म ल्याइदिन रुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लिखित अनुरोध गरेको छ । सहकारी ठगीसम्बन्धी रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी परेको र पक्राउ पुर्जी जारी भइसकेकाले बयानका लागि त्यहाँ लैजानुपर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने निश्चित भएको बताइन्छ । यसअघि सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई पनि पोखराबाट बयानका लागि भैरहवा पुर्याइएको थियो ।
कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई आज बिहान जिल्ला अदालत कास्की पुर्याइएको छ । उनीहरुलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनीहरुमाथि प्रहरी अनुसन्धान जारी छ । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि पोखरा पुर्याइएका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिनको म्याद थपिएको थियो ।
जोशी असोज ६ गते पक्राउ परेका हुन् । उक्त सहकारीबाट पाँच करोड गोरखा मिडियामा गएको थियो ।
टिप्पणीहरू