पोखरा र भैरहवा एयरपोर्ट चलाउन उडान कटौती नगरेको प्रष्टोक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रनवे विस्तारसहित विमानस्थल स्तरोन्नतिका लागि उडान कटौती गर्न लागिएको हो ।
त्रिभुवन विमानस्थल अहिले दैनिक २१ घण्टा संचालन हुने गरेको छ । कात्तिक २३ गतेदेखि चैतसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द रहनेछ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हिउँदमा कम उडान हुने भएकाले धावनमार्ग विस्तार कार्य अघि बढाउन लागेको बताए । रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरी विमानस्थलको क्षमता बढाउन लागेको पनि उनले जानकारी दिए ।
विमानस्थल १० घण्टा बन्द हुने भएसँगै करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती हुने अनुमान गरिएको छ । प्राधिकरणले विकल्पमा भैरहवा र पोखरा विमानस्थलमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रस्ताव गरेको छ । तर, अधिकांश कम्पनीहरुले भैरहवा र पोखरामा उडान गर्न रुचि देखाएका छैनन् ।
क्यानले भने आठ महिनाअघि नै रनवे विस्तार गर्ने निर्णय भएको जनाउँदै पोखरा र भैरहवा विमानस्थल जबर्जस्ति चलाउन नखोजेको जनाएको छ । ‘रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे निर्माण गर्न लागिएको हो, जबरजस्ती भैरहवा र पोखरा विमानस्थल चलाउनका लागि उडान कटौती गरेको हैन' , उनले भने ।
यस निम्ति सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिएको अधिकारीको भनाई छ ।
‘हामीले यो पाँच महिनामा हाम्रो अनुमानित आयको दुई अर्ब रुपैयाँ गुमाउदैँ छौं । यो कुनै रणनीति र राजनीति होइन । र, यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ । यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले यो भन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ,’ उनले भने ।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिलेजस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारी बताउँछन् । उनले ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढ्ने पनि दाबी गरेका छन्।
टिप्पणीहरू