जनप्रतिनिधिद्वारा नगर प्रहरीमाथि हातपात, त्यसअघि नाराबाजी

जनप्रतिनिधिद्वारा नगर प्रहरीमाथि हातपात, त्यसअघि नाराबाजी

पोखरा महानगरपालिकाका केही जनप्रतिनिधिले नगर प्रहरीमाथि हातपात गरेका छन् । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले नगर प्रहरी भुवन थापामाथि प्रहार गरेको बताइन्छ । 

त्यसअघि बिहान ११ देखि १२ बजेसम्म एक घण्टा प्रदर्शन गरेका जनप्रतिनिधिको टोलीले कार्यवाहक प्रमुखलाई भेट्न गएको बेलामा सचिवालयमै हातपात गरेका हुन् । नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा छन् ।

महानगरपालिकाको ३६ औँ कार्यपालिका बैठकले मंसिर १ गतेदेखि करारमा कार्यरत ३५ कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । यसअघि गत असार मसान्तसम्म अन्तिम पटक करार म्याद थपिए पनि पुनः कात्तिक मसान्तसम्म म्याद थपिएको थियो। 

पछिल्लो निर्णयपछि एमाले निर्वाचित जनप्रतिनिधि र एमाले निकट कर्मचारी संगठन संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । महानगरले लोक सेवाबाट सिफारिस भइआएका ४८ जना कर्मचारीलाई नियुक्ति दिनुपर्ने भएपछि उनीहरुलाई हटाइएको बताएको छ ।

पोखरामा मेयर एकीकृत समाजवादीका हुन् भने नेपाली काँग्रेसका २२ वडाध्यक्ष र एमालेका १० वडाध्यक्षसहित १७ जना कार्यपालिका सदस्य छन् । एमाले जनप्रतिनिधिहरुले मेयरले दलगत पूर्वाग्रह राखेर कर्मचारी हटाएको आरोप लगाउँदै आएका छन् ।

टिप्पणीहरू