आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ढोरपाटन (फोटोफिचर)
वन्यजन्तु शिकार आरक्षको रुपमा प्रख्यात बाग्लुङको ढोरपाटन आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । विगतमा बाह्य शिकारीको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउन थालेको हो ।
ढोरपाटन शिकार आरक्ष मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य रहेको स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटरका सञ्चालक दिपक थापा बताउँछन् । यहाँ रहेको उत्तरगंगा बराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।
यद्यपि, यस क्षेत्रको विकास लागि राज्यले ध्यान नदिएको उनले गुनासो गरे । ‘राज्यका विभिन्न निकायबाट ढोरपाटन छुटेको जस्तो लाग्छ, प्रचारप्रसारका लागि जुन तहबाट काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ थापाले भने ।
गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी र लुम्बनी प्रदेशको पूर्वी रुकुमसम्म फैलिएको यो क्षेत्रमा वर्षायाममा विभिन्न रंगीचंगी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न र वसन्त ऋतुमा लालीगुराँस र चिमल फुल्ने गर्दछ ।
वि.सं. २०४४ सालमा स्थापित यो मुलुकको एक मात्र शिकार आरक्ष हो, जसको क्षेत्रफल १३२५ वर्ग किलोमिटर रहेको छ । पर्यटन पूर्वाधारको विकास हुदैँ गएको यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टेहरुको सुविधा उपलब्ध छ ।
एक पटकमा करिब छ सय जनासम्म पर्यटक बस्न सक्ने क्षमता भएका यी होटलहरु प्रायजसो तिब्बती शरणाथीले सञ्चालन गरेका छन् । यहाँ विशेष गरी तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ ।
ढोरपाटनबाट निसेढोर छ्यान्तुङ, गुर्जाघाट र जलजलालगायत स्थानमा पदयात्रा पनि गर्न सकिन्छ । आरक्षमा एक सय ६४ प्रजातिका चराचुरुंगी, नाउर, झारल, घोरल, रेड पाण्डा, हिउँ चितुवालगायत दुलर्भ वन्यजन्तु पाइन्छन् ।
तस्बिरहरु
टिप्पणीहरू