नेपाल झिकाउने तयारीपछि कार्कीले भने ‘जिब्रो चिप्लियो, माफी चाहन्छु’
प्रधानमन्त्रीको हत्या गर्न उक्साएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । प्रहरीले नेपाल ल्याएर विद्युतीय अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी थालेपछि उनले जापानबाटै माफी मागेका हुन् ।
कार्कीले गत बुधबार साफ वुमन्स च्याम्पियशिपको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउँदै एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । जसमा भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं । आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ, उता जान पनि टाइम छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’
उनको उक्त अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीले जापानस्थित नेपाली दूतावासको समन्वयमा कार्कीमाथि निगरानी बढाएको थियो । त्यसपछि अत्तालिएका उनले आज भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई मार्ने नियत नभएको स्पष्ट पारेका हुन् ।
कार्कीले खेल हेर्ने क्रममा आक्रोशित भएर त्यस्तो अभिव्यक्ति दिन पुगेको जनाउँदै अन्यथा नलिन आग्रह गरेका छन् । आफ्नो अभिव्यक्तिको तात्पर्य अर्कै रहेको बताएका उनले ‘जिब्रो चिप्लिएको’ रुपमा बुझिदिनसमेत अनुरोध गरे ।
‘खेल त सबैले हेर्नुभयो होला । हामीले जित्यौ वा हार्यौं, त्यो आफ्नै ठाउँमा छ । सिक्दैछौं । गेमको दौरानमा फ्रस्टेसनको कारण जिब्रो चिप्लिएको हो । मार्नुपर्छ भन्ने शब्द बोल्न पुगेँ । मेरो तात्पर्य गलत भयो । शैली कमेडी भयो । मार्नुपर्छ भन्दा फ्रस्टेसन पोखिएको हो, अलिकति नेगेटिभ इनर्जी भयो’, उनले भिडियोमा भनेका छन्, ‘तर यसलाई कुनै पनि पोलिटिकल व्यक्तिहरुले, कुर्सीमा बस्नुभएका व्यक्तिहरुले मलाई नै प्रहार गर्न खोजेको हो भनेर नबुझिदिनुहोला । मेरो इन्टेन्सन त्यस्तो थिएन । म सबैमा माफी माग्न चाहन्छु ।’
टिप्पणीहरू