इण्डोनेसियासँगको सम्बन्ध सुमधुर बनाएकोमा ढकाल सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल ‘काराका बुवाना अवार्ड’ बाट सम्मानित भएका छन् । त्यहाँको परराष्ट्र मन्त्रालयले उक्त विशिष्ट अवार्डबाट उनलाई सम्मान गरेको जनाएको छ ।
दुई राष्ट्रबीचको सम्बन्ध सुदृढ र सुमधुर बनाउन ढकालले खेलेको भूमिकालाई कदर गर्दै मन्त्रालयले सम्मान प्रदान गरेको हो । ढकालले सामाजिक सञ्जालमार्फत् अवार्डका लागि इण्डोनेसियाको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिएका छन् ।
अवार्डले नेपाल र इण्डोनेसियाबीचको स्थायी सम्बन्ध झल्काएको उनको भनाइ छ । लेखेका छन्, ‘गणतन्त्र इण्डोनेसिया सरकारबाट कारका बुवाना अवार्ड प्राप्त गर्न पाउँदा मैले निकै सम्मानित महशुस गरेको छु । नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदूतका रुपमा काम गर्न पाउनु एउटा महत्वपूर्ण कोसेढुंगा हो । यो मान्यताले नेपाल र इण्डोनेसियाबीचको स्थायी सम्बन्धलाई झल्काउँछ । म इण्डोनेसियाको परराष्ट्र मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
त्यस्तै, उनले दुई मुलुकबीच व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा आफू सँधै तत्पर रहने बताएका छन् । ढकाल सन् २०१० देखि नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।
टिप्पणीहरू