पोताला दरबारमा दुध र मह दलिँदै
चीनको स्वायत्त क्षेत्र सिचाङ अर्थात तिब्बती राजधानी ल्हासामा रहेको पोताला दरबारलाई पुनः चिटिक्क पार्न थालिएको छ । पोताला दरबारको बाहिरी भाग रंगरोगनमा स्थानीय हजारौं ल्हासाबासीको सहभागिता रहेको बताइन्छ ।
चाइना डेली डट कमका अनुसार विश्व सम्पदासूचीमा सूचीकृत उक्त दरबारको बाहिरी भागमा स्थानीयले परम्परागत रुपमा तयार पारेको रंग लगाइएको छ । दुध, मह, चिनी, केशरलगायत विभिन्न पदार्थ मिसाएर बनाइएको कागती रंगको लेप बाहिरी भागमा दलिएको हो ।
तिब्बतको उक्त दरबारमा शताब्दीऔंदेखि परम्परागत रंगको प्रयोग गरिएको छ । यसले प्राचीन दरबारको बाहिरी भित्तालाई घाम, पानी र हावाबाट जोगाउने विश्वास गरिन्छ ।
समाचारमा जनाइएअनुसार पोताला दरबारमा तिब्बती क्यालेण्डरको नवौं महिनामा यसरी रंगरोगन गरिन्छ । हरेक वर्ष वर्षायाम सकिएपछि यो कार्य हुने गरेको छ ।
टिप्पणीहरू