मानव तस्करीको आरोप लागेका एमाले सांसदमाथि अनुसन्धान गर्दै प्रहरी
नेकपा एमालेका नेता तथा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीमाथि मानव तस्करीको आरोप लागेको छ । क्याविनेटबाट स्वीकृत नलिई जापान भ्रमणमा गएका र विवादपछि हिजो पद छोडेका उनीमाथि गैरकानुनी मानव ओसारपसारको आरोप लागेको हो ।
संघ तथा प्रदेशका मन्त्रीहरुले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषदबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, अधिकारी गत कात्तिक १३ गते स्वीकृतिबेगर जापान गएका थिए । त्यसपछि चर्को आलोचनामा परेका उनले हिजो 'नैतिकताको आधारमा राजीनामा' दिए पनि उनीमाथि थप अनुसन्धान हुनुपर्ने आवाज उठेको छ ।
उनी जापान जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नाममा नक्कली कागजात बनाएर चार जनालाई साथमा लिएर गएको आरोप छ । टोकियो विमानस्थलले उनीहरुको साथमा शंकास्पद कागजात भेटेपछि ४८ घण्टा राखेर नेपाल फिर्ता गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोत बताउँछ ।
अधिकारीसँगै जापान पुगेर नेपाल फर्किएका चार जनालाई भने प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु मन्त्रालयको नक्कली कागजातका आधारमा पक्राउ परेका हुन् । निता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटा पक्राउ परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले बताएको छ ।
अधिकारीले भने नेपाल फर्केलगत्तै बुधबार मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । तर, राजीनामा दिँदैमा उनलाई उन्मुक्ति दिन नहुँदै भन्दै यथाशीघ्र अनुसन्धान अघि बढाउन प्रतिपक्ष दलहरुले माग गरेका छन् । यसबारे अनुसन्धान सुरू गरिसकेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
'अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ । सबै कुरा भन्न सकिँदैन । थप अनुसन्धानपछि यथार्थ बाहिर आउँछ', काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले भने । बुधबारबाटै अनुसन्धान थालिएको उनले बताए ।
अधिकारीले जुन प्रयोजनका लागि भ्रमण गरेको दाबी गरेका छन्, त्यो पनि शंकाश्पद देखिएको छ । टोकियो महानगरले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म आयोजना गरेको कार्यक्रमका लागि आफूलाई निमन्त्रणा आएको र भाग लिन गएको उनले बुधबार पत्रकार सम्मेलनमा दाबी गरेका थिए । तर, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले भने टोकियो महानगरले निमन्त्रणा पत्र नपठाएको बताएको छ ।
‘टोकियो महानगरपालिकामा हुने कार्यक्रममा म एक्लै गएको हो । तर, हङकङमा चार जना नेपाली भेटिए । उतै लुक्ने योजनामा रहेछन् । उनीहरू उतै बस्ने खुलेपछि देशप्रति गद्दारी गर्नुहुँदैन भनेर फिर्ता हुन खोज्दा ट्रान्जिटबाट फिर्ता हुन मिलेन’, आफ्नो बचाउ गर्दै अधिकारीले पत्रकार सम्मेलनमा भनेका थिए ।
भ्रमणबारे नकारात्मक टीकाटिप्पणी भएकोले पदमा बसिरहन उचित नहुने ठानेर नैतिकताको आधारमा पद छोडेको पनि उनको जिकिर छ ।
त्यसो त, कोइराला आफैँमा विवादित पात्र हुन् । यसअघि पनि सुन तस्करी र हत्या प्रकरणका प्रतिवादीको पक्षमा अदालतमा बहस गरेपछि उनको चर्को आलोचना भएको थियो ।
यता, उनको पार्टी एमालेले प्रहरी अनुसन्धानका क्रममा मानव तस्करीमा संलग्नता पुष्टि भए सांसद पदबाट हटाउने स्पष्ट पारेको छ । साथै पार्टीका तर्फबाट अनुसन्धान प्रक्रियालाई प्रभावित पार्नेगरी कुनै दबाब नहुने उसले जनाएको छ ।
लिलावल्लभ एमालेको टिकटमा मोरङ–२ (ख)बाट दोस्रो पटक निर्वाचित प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।
टिप्पणीहरू