'ब्याट्सम्यान टिक्न नसक्दा लिग-२ चुनौतिपूर्ण'
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र क्यानडामा सम्पन्न त्रिकोणात्मक श्रृंखला सोचेजस्तो नभएको बताएका छन् ।
दुवै श्रृंखला खेलेर आज स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसक्दा टिमले हारेको बताए । लामो फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने उल्लेख गर्दै उनले सिरिजका आगामी खेलमा ध्यान दिनुपर्ने बताए ।
हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको रोहितको भनाई छ । उनले लिग–२ को तीन वटा श्रृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेल चुनौतीपूर्ण हुने पनि बताएका छन् ।
क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै कप्तान रोहितले ब्याटिङमा चुकेको बताए ।
नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले पनि लामो फर्म्याटका खेलमा खेलाडी अभ्यस्त नहुँदा दुवै सिरिज गुमाउनुपरेको धारणा राखेका छन् । ब्याट्सम्यान भएपछि सबै कन्डिसनमा खेल्न सक्नुपर्ने बताउँदै उनले टोलीले अझै सुधार गर्नुपर्ने देखिएको बताए ।
घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने टमटाको भनाई छ । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले विश्वास व्यक्त गरे ।
नेपालले क्यानडा सिरिजमा तीन खेलमा हार व्यहोरेको थियो भने ओमानसँगको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएको थियो । मात्र एक अंक लिएर क्यानडाबाट अमेरिका पुगेको टोलीले त्यहाँ एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो । स्कटल्याण्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन ।
लिग–२ को अंकतालिकामा नेपाल १२ खेलबाट ६ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।
टिप्पणीहरू