'एमाले सांसदको जापान काण्ड नक्कली भूटानी शरणार्थी प्रकरणको अर्को रुप'
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसपछि उत्पन्न विवादलाई नक्कली भूटानी शरणार्थी प्रकरणको अर्को रुप भन्दै छानविन माग गरेको छ।
क्याविनेटको स्वीकृति नलिई जापान गएका मन्त्री अधिकारीमाथि मानव तस्करीको आरोप लागिरहेको छ । तस्करहरुसँगको सेटिङमा जापान पुगेको भन्दै चर्को आलोचना भएपछि हिजो पदबाट राजीनामा दिएका उनीमाथि छानविन गर्न माओवादीले सरकारको ध्यानाकर्षण गराएको हो ।
सो पार्टीको कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गीता तिम्सिनाले राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको भन्दै यो प्रकरणको यथार्थ बाहिर ल्याउन माग गरिन् । मानव तस्करीसँगै सरकारी कागजात किर्तेमा छानबिन हुनुपर्ने उनको भनाई छ ।
मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरु जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय रहेको माओवादीले बताएको छ ।
‘प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ', तिमिल्सिनाले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको छ ।'
मन्त्री अधिकारीसँगै गएका व्यक्तिहरुसँग मन्त्रालयका कर्मचारीको नाममा नक्कली परिचयपत्र हुनु, त्यसैको आधारमा एउटै कार्यक्रममा सहभागी रहनु तथा मन्त्री र ती व्यक्तिहरुको भिसासहित हवाई टिकटको प्रबन्ध गरिनुले घटना रहस्यमयी देखिएको विज्ञप्तिमा उल्लेख छ ।
‘जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्रान्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्च पदस्थ व्यक्तिहरुको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
संसदका दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार छोटो अवधिमै एकपछि अर्को विवादमा पर्नुले कांग्रेस-एमाले गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलतधन्दा चलाउने गिरोहको संरक्षणको पक्षमा रहेको तथ्य थप उजागर भएको माओवादीको ठहर छ ।
टिप्पणीहरू