वैदेशिक लगानी सातदेखि नौ अर्बमा सीमित

वैदेशिक लगानी सातदेखि नौ अर्बमा सीमित
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त १७ जना राजदूत र तीन महावाणिज्यदूतसँग अन्तरक्रिया गरेका छन् । महासंघको कार्यालयमा आयोजित वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विषयक अन्तरक्रियामा उनले विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् । 

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह गर्दछौं । यसमा महामहिमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो’,उनले भने,‘नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन सकेको छैन । तपाईँहरुले आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानक मानेर काम गर्नुपर्यो ।’

त्यसैगरी नियोगहरुले महासंघको अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्नसक्ने उनले बताए । विश्वभर महासंघको ५० प्रतिनिधिमूलक संस्था एवम् चेम्बरसँग सहकार्य रहेको छ । महासंघले वैदेशिक सदस्यता पनि दिँदै आएको छ । महासंघ र नेपाली नियोग मिलेमा वैदेशिक लगानी भित्र्याउन सहज हुने उनको जिकिर छ ।

ढकालले भनेका छन्, ‘पछिल्लो डेढ वर्षमा हामीले भारत, चीन र दुबईमा ठूला सम्मेलनहरु आयोजना गर्यौं । यी कार्यक्रममा हरेक मुलुकका करिब डेढ सय स्थानीय उद्यमी व्यवसायीको सहभागिता थियो । मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना छ । यसमा विशेष ध्यान दिन जरुरी छ । अन्य मुलुकहरुमा नेपाली उत्पादनका लागि गैर भन्सार अवरोधका समस्या छन् ।’

पछिल्लो दुई वर्षमा विदेशी लगानी वार्षिक सातदेखि ९ अर्ब रुपैयाँमा सीमित भएको छ । उक्त लगानी मुलुकको कुल गार्हस्थ उत्पादनको ०.२ प्रतिशत मात्र भएको उल्लेख गर्दै ढकालले लगानी प्रवद्र्धन सबैको चासोको विषय बन्नुपर्नेमा जोड दिएका छन् । सो क्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्त सम्झौताका लागि पहल गर्नुपर्ने धारणा राखे ।

 चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई नियाल्नुपर्ने बताए । अन्य राजदूतले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 

टिप्पणीहरू