सरकार चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने मनस्थितिमा
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडक पुनःनिर्माणको ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्गको उक्त खण्ड वरपरका जनप्रतिनिधिहरुसँगको भेटमा ठेक्का तोड्ने धारणा राख्नुभएको छ ।
निर्माण कार्यमा लापरबाही भएको जनाउँदै जनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानन्त्री ओलीले सकारसँग पनि ठेक्का तोड्ने विकल्प मात्रै बाँकी रहेको जानकारी दिनुभएको सहभागी एक जनाले बताए । उनले भने, ‘हामी भन्दाबढी प्रधानमन्त्री नै ठेक्का तोड्नुपर्ने मनस्थितिमा पायौं । पटक पटक म्याद थपिएको भन्दै उहाँले नै निर्माण कम्पनीको कार्यप्रति असन्तुष्टि जनाउनुभएको छ ।’
निर्माण ठेक्का लिएको चाइना स्टेट कर्पोरेसन लिमिटेडले सडक विस्तारअघि सरकारले तयार पारिदिनुपर्ने पूर्वाधारमा भएको ढिलाइका कारण तोकिएको समयमा सडक सम्पन्न नभएको बताउँदै आएको छ । विशेषगरी सडक किनारका रुख र अन्य भौतिक पूर्वाधार बेलैमा हटाउनुपर्ने जिम्मेवारी नेपाली पक्षको रहेको उसको दाबी छ ।
यस्तै समस्या काठमाडौंको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ बिस्तारमा पनि देखिएको छ । नेपाल सरकारले चक्रपथ किनारका भौतिक पूर्वाधार नहटाएको, महाराजगञ्ज चोकका डेढ दुई दर्जन घरको मुआब्जाबारे निर्णय नभएकाले पनि चिनियाँ पक्ष निर्माणमा अघि नसरेको बताइन्छ । स्वयम्भूको पश्चिम भागमा पछिल्लो समय बनाइएका गुम्बा, विश्वसम्पदा सूचीमा सूचीकृत स्थलमा हुने निर्माणलगायत पक्षमा निर्माण कम्पनी सम्वेदनशील बनेपछि चक्रपथ बिस्तारको कार्य थालनी हुन नसकेको हो ।
टिप्पणीहरू