प्रवेशपत्रमा हेडगुरुले गडबडी गरेको ठहर
विद्यार्थीको प्रवेशपत्रमा ‘गोलमाल’ गरी नक्कली परीक्षार्थी खडा गर्ने प्रिन्सिपलविरुद्धको मुद्दामा अभियोग दाबी पुग्ने फैसला भएको छ । काठमाडौं जिल्ला अदालतले राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महतविरुद्धको लिखतसम्बन्धी मुद्दामा अभियोग दाबी पुग्ने फैसला गरेको हो ।
काठमाडौं महानगरपालिका समेतले दायर गरेको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलाशले गत भदौ ७ गते अभियोग दाबी पुग्ने फैसला सुनाएको छ । गत वर्ष कक्षा १२ को परीक्षा वैशाख १४ गतेबाट शुरु हुँदा प्रिन्सिपल महतले विद्यार्थीको प्रवेशपत्रमा तस्बिर फेरबदल गरिदिएका थिए ।
उनले अघिल्लो ब्याचको विद्यार्थीको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको तथ्य पछि मात्र खुल्यो । प्रवेशपत्रमा ‘गोलमाल’ गरिएका पाँच जनामध्ये दुई जना उनका भाइ थिए । एक हुन्, तिलबहादुर र अर्का दिपक महत ।
जनआस्था डटकमले वैशाख १३ गते ‘विद्यार्थीको प्रवेशपत्रमा बद्मासी,बोर्डले अघि बढाउला त कारबाही ? ?’ शीर्षकमा समाचार प्रकाशन गरेको र गत भदौ २५ गते जनआस्था साप्ताहिकमा ‘दोषी ठहरिएका हेड सरमाथि सजायँ तोकिँदै’ शीर्षकमा समाचार छापिएको थियो । वैशाख २ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी पर्यो । मन्त्रालयले छानबिनका निम्ति पत्र बोर्डको प्रवेशपत्र शाखामा पठायो । शाखाले प्रवेशपत्रमा गडबडी पाएपछि काठमाडौं महानगरपालिकालाई अनुसन्धानका लागि पत्राचार गर्यो । सो क्रममा महानगरले प्रवेशपत्रमा तलमाथि गरेको तथ्य फेला पा¥यो । यता, आफ्नो तस्बिर दुरुपयोग भएको भन्दै लोकबहादुर भण्डारीसहितले प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी हाले ।
‘एक वर्षअगाडि २०७९ ब्याचको प्रोलिफिक माविको कक्षा १२ पास भई अन्यत्र क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययनरत विद्यार्थी म निवेदक लोकबहादुर भण्डारीको फोटो दुरूपयोग गरी प्रोलिफिक प्रिन्सिपल महतले नक्कली प्रवेशपत्र बनाएकाले आवश्यक कानुनी कारबाहीको लागि अनुरोध गर्दछु,’ उजुरीपत्रमा उल्लेख छ ।
प्रहरीले वैशाख १६ गते उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लियो । यता, बोर्डले सिम्बोल नम्बर २२७३३४०६ भएका विकेश न्यौपाने, २२७३३४०७ भएका दिपक महत, २२७३३४०९ भएका मुकेश चन्द, २२७३३४११ भएका प्रशान्त बिष्ट, २२७३३४१६ भएका तिलबहादुर महतको परीक्षा रद्द गरिदियो ।
प्रिन्सिपल महतका भाइ दिपकको जन्ममिति २०४७ भदौ ५ गते र तिलबहादुरको २०४६ माघ २ गते रहेको छ । बुवाको नाम रणबहादुर हो । भाइ अनुत्तीर्ण हुने भएपछि उनले नक्कली परीक्षार्थी खडा गरेको र अन्य विद्यार्थीबाट पनि रकम असुलेको स्रोतको भनाइ छ । यता, उनीविरुद्ध उजुरी दिने विद्यालयकै शेयर सदस्यमध्ये एक हुन् ।
‘उहाँले विगतदेखि नै यो धन्दा चलाउँदै आउनुभएको रहेछ । पुराना विद्यार्थीले सहजै परीक्षा दिन्छन् र पास हुन्छन् भनेर फोटो दुरुपयोग गर्नुभयो । पछि विद्यार्थीले पनि फोटो दुरुपयोग भएको भनी जाहेरी दिए । अदालतले उहाँविरुद्धको कसूरमा अभियोग दाबी पुग्ने फैसला गरेको छ । सजायँबारे पूर्णपाठ आएपछि थाहा हुन्छ’,स्रोतले भन्यो ।
लिखतसम्बन्धी कसूरमा अभियोग दाबी पुगेको फैसला भइसक्दा पनि उनी पदमा छन् । जबकि दोषी ठहर भएपछि पदमा बसेर काम मिल्दैन । एक अधिवक्ताका अनुसार उनले अब शिक्षकको रुपमा कतै काम गर्न मिल्दैन । अमृत साइन्स क्याम्पसमा समेत आंशिक रुपमा पढाउँदै आएका उनले अब त्यता पनि पढाउन नमिल्ने ती अधिवक्ताको भनाइ छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू