पाथीभरामा भेटी : नगद घटाउँदै, डिजिटल बढाउँदै
- कमल भट्टराई
ताप्लेजुङको पाथीभरा मन्दिरमा अबदेखि भक्तजनले भेटी चढाउन नगदको सट्टा डिजिटल माध्यमको प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ । भेटी चढाउन चाहनेले जहाँसुकैबाट क्युआरको प्रयोग गर्न सक्नेछन् ।
पाथीभरा पुगेका वा टाढाबाट पनि भक्तजनले क्युआरको प्रयोग गरेर भेटी चढाउन सक्ने पाथीभरा संरक्षण समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । लक्ष्मी सनराइज बैंकको क्युआर कोडबाट उक्त कार्यको थालनी गरिएको हो ।
आगामी दिनमा अन्य बैंकको क्युआरबाट पनि यो सुविधा सञ्चालनमा ल्याइने जानकारी दिइयो । अन्यत्रका तीर्थस्थलमा यस्तो प्रयोग भइसकेको तर पाथीभरामा पहिलो पटक डिजिटल माध्यमबाट भेटी चढाउन सकिने व्यवस्था गरिएको हो ।
यसबाट पारदर्शिता कायम रहनुका साथै नोट झुत्रो हुने समस्या कम हुने छ । टाढाबाट पाथीभरा आउन नसक्ने भक्तजनले पनि आफ्नो गच्छेअनुसारको भेटी घरमै बसेर चढाउन सक्नेछन् ।
टिप्पणीहरू