प्रहरीको गुप्ताङ्गमा प्रहारपछि उत्पन्न विवाद मिलाउने तयारीमा महानगर
करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णयउपर गहन छलफल गर्न समिति गठन गरिएको छ ।
महानगरका प्रवक्ता एवम् २५ नम्बरका वडाध्यक्ष मोतिलाल तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन भएको छ । समिति सदस्यमा वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, १३ का किरण बराल, १५ का वडाध्यक्ष तोरण बानियाँ छन् ।
त्यस्तै, ३० नम्बर वडासदस्य विनोद लामिछाने, १६ का रामचन्द्र आचार्य, २२ का कृष्णकुमारी पौडेल र २८ का डाल्डादेवी भुजेल पनि सदस्यमा रहेको जनाइएको छ ।
कर्मचारी परिचालन तथा व्यवस्थापनलगायत महानगरमा देखिएका विभिन्न समस्यामाथि गहन छलफल गरी समस्या समाधानका लागि तीन दिनभित्र सुझाव दिने कार्यादेश समितिले पाएको छ ।
‘महानगरमा वर्तमान समयमा कर्मचारी परिचालन–व्यवस्थापनलगायत देखिएका अन्य विभिन्न समस्याका सम्बन्धमा गहन छलफल तथा विचार विमर्श गरी तीन दिनभित्र समाधानका उपायहरुसहितको सुझाव पेश गर्न तथा सहजीकरण गर्नका लागि मिति २०८१/०७/२८ को महानगर प्रमुखस्तरीय निर्णयबाट सहजीकरण समिति गठन गरिएको जानकारी गराइन्छ,’ महानगरको विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक १५ गते बसेको ३६ औं कार्यपालिका बैठकले मंसिर १ गतेदेखि करारमा कार्यरत २८ जना कर्मचारीलाई हटाउनेसँगै सात जना शिक्षिक र परिचालिकालाई कार्यालय सहयोगीमा काम गर्न दिने अन्यथा बिदाई गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध एमालेबाट निर्वाचित जनप्रतिनिधि र एमालेनिकट कर्मचारी संगठन आन्दोलनमा उत्रिएका छन् । केही दिनअघि आन्दोलनकै क्रममा उनीहरुले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । सो घटनापछि महानगर कार्यपालिका कार्यालयको वातावरण तनावग्रस्त बन्दै आएको छ ।
टिप्पणीहरू