ट्राफिकलाई चार सयबाट स्मार्टफोन दिन शुरु
बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई चार सय बढी स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ती स्मार्टफोन प्रदान गरिएको हो ।
आज ललितपुरको कनिबहालस्थित होटल गुडविलमा आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउन स्मार्टफोन प्रदान गरिएको उनले बताए । उनले भने,‘नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले आवश्यक समन्वय गर्नेछ । स्मार्टफोनबाट यातायात व्यवस्थापनमा सहयोग पुग्ने मेरो विश्वास छ ।’
त्यस्तै, आईजीपी कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै ट्राफिक व्यवस्थापन गरिरहेको प्रहरीलाई स्मार्टफोन अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने उल्लेख गर्दै उनले ट्राफिक व्यवस्थापनलाई समयानुकुल आधुनिक र प्रविधिमैत्री बनाउन सरोकारवालाको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर श्रेष्ठ, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेललगायतको उपस्थिति थियो ।
टिप्पणीहरू