गौतमबुद्ध विमानस्थलबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा झन्डै पाँच हजार यात्रुले अन्तर्राष्ट्रिय उडान सेवा प्राप्त गरेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सार्वजनिक गरेको पछिल्लो एक महिना (नोभेम्बर ३ देखि डिसेम्बर ३ तारिखसम्म) को उडान तथ्याङ्कअनुसार ४ हजार ७७२ यात्रुले यहाँबाट उडान तथा अवतरण गरेका हुन् । यो अवधिमा विमानस्थलबाट प्रस्थान गर्नेभन्दा भित्रिने यात्रुको संख्या बढी रहेको छ ।
२ हजार २३८ यात्रु भैरहवाबाट विदेश उड्दा २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । त्यस्तै, एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४६७ यात्रु उडेका छन् ।
तथ्याङ्कअनुसार एक महिनामा नेपाल वायुसेवा निगमसहित कतार एअरवेज, जजिरा, फ्लाई दुबई, थाई एयर एसिया र केही चार्टर्ड फ्लाइटबाट ७८ उडान र ७८ अवतरण भएको जनाएको छ। सबैभन्दा धेरै फ्लाई दुबईले ५० वटा उडान गरेको छ ।
त्यसपछि क्रमश: कतार एअरवेजले ३८, नेपाल एयरलाइन्स २४,जजिरा २२, चार्टर्ड फ्लाइट १२ र थाई एयर एसियाले १० वटा उडान गरेका छन् ।
जजिरा एयरलाइन्समार्फत सबैभन्दा बढी ३ हजार ३४ जनाले यात्रा गरेका छन् । फ्लाई दुबईमार्फत १ हजार १३४, थाई एयर एसियामा ४४७, कतार एअरवेज ९३, नेपाल वायुसेवा निगममा ३९ र चार्टर्ड फ्लाइटमा २६ यात्रुले यात्रा गरेको तथ्याङ्क छ ।
विमानस्थलमा सिधा उडान गर्ने एयरलाइन्सको उडान तथा अवतरण संख्या कम भए पनि काठमाडौंसँग जोडेर उडान गरिरहेका एयरलाइन्सले धेरै यात्रु बोकेका छन् । पर्यटकीय उद्धेश्यभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु बढी देखिनुका साथै अधिकांश यात्रुको छनोट गन्तव्य कुवेत रहेको पाइएको छ ।
अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस् एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको तथ्यांकले देखाएको छ । उक्त एयरलाइन्समार्फत ३ हजार ४८१ जनाले यात्रा गरेका हुन् ।
तथ्यांक सार्वजनिकीकरण कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले सिधा र लोकस्ट एयरलाइन्स त्यसमा पनि श्रम गन्तव्य धेरैको छनौटमा रहेकोले वायु सेवा कम्पनीहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले मन्त्रालयबाट गर्नुपर्ने आवश्यक कामका लागि तयार रहेको आश्वासनसमेत दिएका छन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमानस्थल दिगो सञ्चालनमा सरकारले कुनै कसर नराख्ने र सम्पूर्ण समस्याको पहिचान भइसकेको जनाउँदै थप समन्वय र छलफलमार्फत कामकारबाही अघि बढाउने बताए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान कटौती भएसँगै वायुसेवा कम्पनीहरुले गौतमबुद्ध विमानस्थलबाट उडान गरेका हुन् ।
टिप्पणीहरू