लुम्बिनीले तोड्यो हारको शृंखला, रोहितको अलराउण्ड प्रदर्शन

लुम्बिनीले तोड्यो हारको शृंखला, रोहितको अलराउण्ड प्रदर्शन

नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पाँचौँ खेलमा पहिलो जित दर्ता गरेको छ ।

चार खेलमा लगातार हार व्यहोरेको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको टोलीले आज चितवन राइनोजविरुद्ध सानदार जित निकालेको हो । लुम्बिनीको जितमा कप्तान पौडेलले अलराउन्ड प्रदर्शन गरे । 

१६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३४ रनमा समेटिएपछि लुम्बिनीले हारको शृंखला तोडेको हो । चितवनलाई कम स्कोरका रोक्न कप्तान पौडेलले कसिलो बलिङ गर्दै महत्वपूर्ण ४ विकेट हात पारे । त्यस्तै, साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए । 

वेन केनस्टाइनले बनाएको ३१ रन नै चितवनका लागि सर्वाधिक रह्यो । आठौँ विकेटका रुपमा नर बहादुर कार्की २२ र रिजन ढकाल २२ रनमा नटआउट रहे । 

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १६७ रन बनाएको थियो । निकै खराब शुरुवात गरेको लुम्बिनीलाई सम्मानजनक स्कोरमा पुर्याउन कप्तान पौडेलले ८१ रनको उत्कृष्ट पालि खेले । 

आठौँ ओभरमा ४१-४ को अवस्थाबाट पाँचौँ विकेटका लागि उनले साद विन जफरसँग ११४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

टिप्पणीहरू