दिन एक, पर्व अनेक

दिन एक, पर्व अनेक
सुन्नुहोस्

आज नेवार समुदायले योमरी पूर्णिमा, किराँत समुदायले उधौली पर्व र पहाडमा खस ब्राम्हण समुदायले धान्य पूर्णिमा मनाउँदै छन् । आज सरकारले सार्वजनिक बिदा दिएको  छ । 

आजको दिनलाई ज्यापु दिवसको रुपमा पनि मनाईंदै छ । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको वसन्तपुरमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुनुहुने छ ।

नेवार समुदायले नयाँ धान भित्र्याएको खुशीयालीमा आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी नयाँ धानबाट चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरीमा खुवा र चाकुसमेत राखिन्छ । नेवार समुदायले धानको भकारी र अन्नबाली राख्ने कोठाको पूजापाठ गर्छन् । 

आज किराँत समुदायमा उधौली पर्व धुमधामसँग मनाउने चलन छ । नयाँ अन्नबाली भित्र्याएको खुशीयाली र उच्च भागमा चिसो बढेकाले उँधो (तल अर्थात बेसी) झर्ने भएकाले उधौली मनाइन्छ ।

आजैका दिन अन्य समुदायले विधिपूर्वक पूजाआजा एवम् दान गरी धान भित्र्याइने भएकाले धान्य पूर्णिमा पर्व मनाइन्छ । मंसिरमा भित्र्याएको धानलाई गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरेपछि चामल बनाइन्छ । उक्त चामलको पिठोबाट बनाइएको सेल, बाबर, पुरी मालपुवा चढाउने चलन छ । 

आजका दिन मुलुकभरका प्रमुख शिवालयमा मेला लाग्छ ।

टिप्पणीहरू