लुम्बिनीबाट चिनियाँहरु रातारात काठमाडौं फर्किए
चीनको सेन्चेनबाट अस्ति सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी गएका चिनियाँहरु गएराति काठमाडौं फर्केका छन् । अस्ति झैँ आज पनि भैरहवाबाट चीन जान लागेका उनीहरु गएराति श्री एअरलाइन्सको चार वटा चार्टर उडानमा राजधानी आएका हुन् ।
श्रीको उडान नम्बर एसएचए १८२८ बाट ४० जनाको चौथो टोली राति पौने १० बजे काठमाडौं आएको बुझिएको छ । लुम्बिनीको चिनियाँ बौद्ध बिहार र मायादेवी मन्दिरमा दीप प्रज्वलनसँगै लुम्बिनी विश्व शान्ति पूजा कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका थिए । अस्ति चीनबाट सोझै त्यहाँ गएका र हिजो काठमाडौंबाट लुम्बिनी गएकामध्ये २२९ जना राति फर्केका छन् ।
बाँकी २१ जना लुम्बिनीस्थित बुद्ध बिहारमा बसेका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नान्हाइ बुद्धिज्म राउण्डटेबलमा सहभागी चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङ,नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत १० जनाको टोली हिजो मध्यान्ह लुम्बिनी गएको थियो । लुम्बिनीबाट ४८ जनाको पहिलो टोली साँझ ८ बजे श्री एअरको चार्टर उडानमा फर्केको छ ।
साढे ८ बजेको दोस्रो उडानमा ७३ जना र ९ बजेको तेस्रो चार्टर उडानमा ७१ जना काठमाडौं आइपुगेको बताइन्छ । स्रोतका अनुसार चिनियाँ टोली आज स्वदेश फर्कनेछ ।
टिप्पणीहरू