सीकेको घरदेखि पार्टीसम्मै लफडा, दुवैतिर विकल्प खोज्दा झमेला

सीकेको घरदेखि पार्टीसम्मै लफडा, दुवैतिर विकल्प खोज्दा झमेला

मधेसका अरु दल सत्ता स्वार्थमा लागेको, नेताहरू भ्रष्ट भएको र जनताका अपेक्षा पूरा गर्न नसकेकोसहितका आरोप लगाउँदै आफूलाई विकल्पका रूपमा अघि सारेका डा. चन्द्रकान्त राउत (सीके) पछिल्लो समय विवादको दलदलमा छन् ।

२०७९ को चुनावमा सप्तरी क्षेत्र नम्बर २ बाट आफूलाई मधेसको मसिहा बताउने जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादवलाई फराकिलो मतले हराएका सीके संसदीय अभ्यासको पहिलो कार्यकालमै विवादित बनेका हुन् । २०७९ को चुनावमा प्रत्यक्ष र समानुपातिकसहित सीके नेतृत्वको जनमत पार्टीले ६ सिट जित्यो । तर अहिले सीकेलाई त्यही ६ सीट पनि भारी भएको छ । हुँदाखाँदाकी श्रीमतीलाई साइड लगाएर दोस्रो–तेस्रो बिहे गरेका रवि लामिछानेकै शैली सीकेले पनि अपनाउन खोजे । पछिल्लो पटक त उनले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन गरेको हतकण्डा विचित्रको छ । यस प्रकरणमा सीकेले सभामुख देवराज घिमिरेलाई नाता भएकैले गोमालाई च्यापेर पद जोगाइ दिएकोसम्म आरोप लगाउन भ्याए । 

एकपछि अर्को विवादमा मुछिएका सीकेको व्यक्तिगत महत्वाकांक्षा र स्वार्थकै कारण मंसिर १६ को उपनिर्वाचनमा जनमतले नमिठो धक्का ब्यहोर्नुपरेको छ । विभाजन भएर पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेसमा दुईवटा वडाध्यक्ष जित्दा जनमतको भने बिजोग भएको छ । बरु मधेसमा एकीकृत समाजवादीले एउटा वडा जित्यो तर मधेसमा वैकल्पिक शक्ति भनिएको जनमत मधेसका सातै वडामा भएको उनपिर्वाचनमा निकटतम् प्रतिस्पर्धीसमेत हुन सकेन । 

श्रीमतीलाई साइड लगाउने असफल प्रयास 

अहिले पनि सीके नेतृत्वको जनमत पार्टी केपी शर्मा ओलीको सकारलाई समर्थन गरेर बसेको छ । मधेशमा जनमतकै सतिश सिंह छन् । तर, सीकेले अहिले चयन छैन । उनी आफैंले सिर्जना गरेको झमेलमा छन् । कहिले पारिवारिक झमेला त कहिले पार्टीको झमेला । उनी आफैंले सिर्जना गरेको पहिलो झमेला हो, श्रीमती सोनी सिन्धु रानीलाई साइड लगाउन उनले गरेको हर्कत । श्रीमती सोनी अहिले पनि आफू सम्बन्धविच्छेदको पक्षमा छैनन् । उनले यो कुरा लिखित रूपमै बताइसकेकी छन् ।

तर, सीके भने श्रीमतीसँग सम्बन्धविच्छेदका लागि माहोल बनाइदिन भन्दै सञ्चारमाध्यममासमेत धाइरहेका छन् । उनले श्रीमतीलाई पाखा लगाउन जिल्ला अदालत ललितपुरमा भदौ १२ गते सम्बन्धविच्छेदको मुद्दा हाले । उनले डिभोर्सका लागि तर्क पनि अनौठो गरेका छन्, श्रीमतीले पटक पटक आत्महत्या कोसिस गरिन् । सीकेले तीन सन्तान आफैंले राख्ने व्यवस्थासहित भएको सम्पत्तिमा पाँच भागको एक भाग सोनीलाई दिएर सम्बन्धविच्छेद गराइदिन माग अदालतमा गरेका थिए । सम्बन्धविच्छेदका लागि अदालत लगिएको पत्रमा सीकेले श्रीमतीका माइतीले आफूलाई टुनामुना गर्न सक्ने अन्धविश्वासको कुरा पनि उल्लेख गरेका छन् । 

तर, उता श्रीमती सोनीले भने सीकेले आफूलाई यसअघि कयौँ पटक घरेलु हिंसा र शारीरिक याता दिएको बताएकी छन् । श्रीमान्को यातना सहन नसकेपछि पहिले डिभोर्स गर्छु भने पनि अहिले आफू त्यो पक्षमा नरहेको लिखित रूपमै बताएकी छन् । सोनीले सीकेको सम्बन्ध अन्तै रहेको बताउँदै आफूलाई धाकधम्की दिएर पाखा लगाउन खोजिएको गुनासो गरेकी छन् । 

सीकेले सोनीलाई पाखा लगाउन अनेक कोसिस र हर्कत गरेका छन् । तर, उता उनी भने आफूले धेरै घरेलु हिंसा र कुटपिट खेपेको बताउँछिन् । बिहे गरेदेखि नै सीकेले आफूलाई कुटपिट गर्ने गरेको गुनासो उनले दुई महिनाअघि नै सार्वजनिक रूपमा खुलाइसकेकी छन् । अहिले सोनी सम्बन्धविच्छेदको पक्षमा छैनन् तर उता सीके उनलाई जुनसुकै मूल्यमा पाखा लगाउन जोरजुलुम गरिरहेका छन् । 

तर, अदालतमा लगिएको कागजपत्रमा सीकेले आफूमाथि हुँदै नभएका आरोपहरू लगाएको भन्दै सोनीले चित्त दुखाएकी छन् । सोनीको बुझाइमा सांसदसमेत रहेका पतिलाई उनका दाजु जयकान्तले उकासेका हुन् । दाजुकै उक्साहटमा परेर सीकेले पाखा लगाउन खोजेको बताएकी सोनीले आफूलाई सम्बन्धविच्छेद नभएर अधिकारको खाँचो रहेको बताएकी छन् । सोनीलाई सीकेले अमेरिका हुँदैदेखि दुःख दिएको खुलेको छ । उनले सीकेले प्राविधिक ज्ञान सिकभन्दा नसकेपछि मरे हुन्छ पनि भनेको बताएकी छन् । 

सीकेसँगको लफडा हुँदा हुँदा भारतीय दूतावाससम्मै पुगेको छ । भारत माइती भएकी उनले भारतीय राजदूतावासमा पनि गुहार मागेको कुरा अदालतलाई लेखेको प्रत्युत्तरमा उल्लेख गरेकी थिइन् ।

सीके र सोनीको झगडा अहिलेको होइन । बिहेलगत्तै आफूलाई सीकेले घरेलु हिंसा गरेको बताएकी सोनी ६ वर्षपहिले नै राष्ट्रिय मानवअधिकार आयोगमा गुहार माग्न पुगेकी थिइन् । श्रीमान्ले कुटपिट गरी यातना दिएको भन्दै उनले आयोगमा उजुरी दिएपछि सीकेले कुटपिट त गरेनन् तर पाखा लगाउने कोसिस भने जारी राखे । आफूलाई श्रीमतीका रूपमा स्वीकार्नै तयार नभएपछि सोनीले आत्महत्या प्रयाससमेत गरिन् । कुटाई खाइरहनु परेपछि उनले डिप्रेसनजस्तो गम्भीर समस्यासमेत भोग्नुपरेको बताएकी छन् । 

गम्भीर मानसिक समस्या हुँदा श्रीमान्ले साथ दिनुको साटो उल्टै शंका गर्ने गरेको उनको गुनासो थियो । सोनीले श्रीमान्को असहयोगका कारण आफूले उपचार गर्न नपाएको पनि बताएकी थिइन् । सोनीले आफूलाई पाखा लगाउन श्रीमान्ले आफ्नो चरित्रमै पनि शंका गरेर झन् यातना दिएको बताएकी छन् । 

ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा हालेका सीकेले गत असोजमा सप्तरीमा पनि सोनीलाई पाखा लगाउने कोसिस गरे । जहाँ उनले राजविराजस्थित नातेदार र आफ्नो परिवारका सदस्य बोलाएर सोनीलाई सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गर्न लगाए । उनलाई त्यहाँ उनीहरूले नै लेखेको सम्बन्धविच्छेदको पत्रमा जबरजस्ती हस्ताक्षर गर्नसमेत दबाबसमेत दिइयो । उनले राजविराजमै कुनै हालत सम्बन्धविच्छेद चाहियो भनेर जबरजस्ती गरे पनि आफू त्यसका लागि तयार नरहेको बताएकी छन् । उनले सञ्चारमाध्यममै पुगेरसमेत आफू सीकेसँगै बस्ने तर कुनै हालतमा सम्बन्धविच्छेद नगर्ने बताइरहेकी छन् । 

अनौठो त के छ भने सीकेकी श्रीमती सोनीले सम्बन्धविच्छेदको मुद्दा खारेजीको मागसहित ललितपुर जिल्ला अदालतमा प्रत्युत्तर पठाइन् । आफूलाई साइड लगाउन अनेक हर्कतमा उत्रिएका सीकेकै स्वास्थ्य जाँचका लागि उनले अदालतसँग मागसहित १६ असोजमा लिखित जवाफ फर्काइन् । 

‘विपक्षीले मलाई एउटा कामदारको भन्दा तल्लो दर्जामा राख्नु भएको र मलाई व्यवहारका कुराहरू सबै लुकाई मसँग सम्बन्धविच्छेद गर्न चाहनुभएकाले उक्त सम्बन्धविच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालतसमक्ष जाहेर गर्न चाहन्छु’, सोनीले अदालतमा प्रत्युत्तर दिँदै भनेकी थिइन् । सोनीले उक्त जवाफ फर्काइसकेपछि इमाडोलमा सँगै बस्दै आएका उनीहरू अहिले अलग अलग बस्छन् । सीकेले मुद्दा टुंगोमा नपुन्जेल सोनीलाई मासिक ३० हजार दिने भएका छन् । छोराछोरीको जिम्मा सीकेले नै लिएका छन् ।

सीकेसँगको लफडा हुँदा हुँदा भारतीय दूतावाससम्मै पुगेको छ । भारत माइती भएकी उनले भारतीय राजदूतावासमा पनि गुहार मागेको कुरा अदालतलाई लेखेको प्रत्युत्तरमा उल्लेख गरेकी थिइन् । तर, आफूलाई कहीँ कतैबाट सुरक्षाको ग्यारेन्टी नभएको गुनासो उनले अदालतलाई लेखेको पत्रमा गरेकी थिइन् । हुन त सीके आफूलाई वैज्ञानिक भन्छन् । उनै वैज्ञानिकको घरमा आफूलाई विपक्षी (पति), सासूससुरा र नन्दले घरेलु हिंसा, मानसिक र शारीरिक यातना दिने गरेको सोनीले अदालतलाई लेखेकी थिइन् । ‘दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी (पतिले) ममाथि ज्यादती गर्नुभएको छ । मसँग दिनरात निहुँ खोजी कुटपिट र झगडा गर्नु भएको छ। सधैँ बुहारी मान्छे बुहारीको सीमाभित्र बस्नुपर्छ, मैले जे भन्छु, त्यो मान्नैपर्छ भनेर दबाबमा राख्ने गर्नुहुन्थ्यो’, उनले अदालतलाई दिएको जवाफमा उल्लेख थियो । 

सीकेले निरन्तर सताएपछि श्रीमती सोनीले असोजमा सुरक्षाको मागसहित प्रहरी प्रभाग इमाडोलमा उजुरी दिइन् । इमाडोलस्थित एकै घरमा बस्दै आए पनि सीकेले दुःख दिन नछाडेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । त्यसबेला प्रहरी बृत्त सातदोबाटोका प्रहरी नायव उपरिक्षक (डिएसपी) चित्र भट्टराईले उजुरी दर्ता गराइदिएका थिए । सोनीले सुरक्षाको खोजीमा प्रहरी गुहारेपछि यी दुईजनाको झगडा झनै चर्चामा आएको थियो । सोनीले उजुरीमा सीकेका कारण आफू असुरक्षित भएको विवरणा उजुरीमा लेखेकी थिइन् । 

उता, सीके भने अझै पनि श्रीमतीलाई मानसिक, शारीरिक रूपमा बिरामी र चारित्रिक खोट देखाएर अझै पनि साइड लगाउने कोसिसमै छन् । उनले त्यसका लागि सबै सम्पत्ति र तीनजना सन्तान सोनीलाई नै राख्न दिएर सम्बन्धविच्छेदको जोडबल पनि गरिरहेका छन् । सीकेको चहाना सोनीलाई पाखा लगाएर सकेसम्म उनलाई भारतस्थित माइती घरतिरै फर्काउने छ । सोनीलाई गत भदौ १ गते पत्र लेखेर १७ वर्षदेखि यातना भोगिरहेकाले सहन नसक्ने बताइसकेको भन्दै अब सम्बन्ध नसुध्रिने भएकाले टुंग्याउनु नै उचित हुने जिकिर गरेका छन् । 

सीकेले श्रीमतीको उद्देश्य नै आफूलाई बर्बाद पार्नु, बदनाम गर्नु र ध्वस्त बनाउनु रहेको जस्तो संगीन आरोपसमेत लगाएका छन् । त्यसैले अब आफू बर्बाद हुने तर यो सम्बन्धलाई अघि बढाउन नसक्ने उनले जिकिर गरेका छन् । समस्या आफूहरूबीच रहेकाले आफूहरूले नै सुल्झाउन पर्ने राउतले लेखेका छन् ।

तर, सन्तान र सम्पत्ति सबै सोनीलाई दिने बताएका उनैले भदौ १२ गते ललितपुर जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा भने अलग्गै जिकिर गरेका छन् । जसमा आफ्नो सम्पत्ति ५ भाग लगाएर १ भाग मात्रै सोनीलाई दिएर सम्बन्धविच्छेद गराउन अदालतलाई सीकले भनेका छन् । उक्त मुद्दामा सीकले सम्पत्ति पनि पाँच भागको एक भाग मात्रै दिने र छोराछोरी आफैँ राख्ने उल्लेख गरेका छन् ।

गोमालाई पाखा लगाउन अनेक हर्कत

श्रीमती सोनीलाई साइड लगाउन अनेक हर्कत गरिरहेका सीकेले जनमतकै समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन गरेको हर्कत श्रीमतीलाई साइड लगाउन गरेकोभन्दा कम छैन । 

समानुपातिक सांसद पक्का भएपछि जनमतलाई ३२ लाख रूपैयाँ बुझाएकी गोमा लाभलाई हटाउन सीकेले गरेको कोसिस विचित्रकै छ। महोत्तरीबाट खस आर्य कोटामा समानुपातिक सांसद भएकी गोमाले जनमतलाई बुझाउन ३२ बैंकबाट झिकेको ३२ लाख रूपैयाँ अहिले पनि तिरिरहेको बताउँछिन् । तर, जनमतले उनको स्थानमा समानुपातिक सूचीका अर्का उम्मेदवारलाई ल्याउन भए–नभएका सबै आरोप लगाइसकेको छ । तर, कुनै पनि सांसदलाई आफूखुसी हटाउने या ल्याउने दल र तिनका नेताको अधिकारमा संसदीय कानुनले अंकुश लगाइदिएको छ । 

तर, राउतले श्रीमतीलाई घरबाट निकाल्न गलत आरोप लगाए जस्तै गोमा लाभलाई पनि सांसदबाट हटाउन नक्कली कागजपत्रको समेत उपयोग गरे। संसदीय दलबाट स्पष्टीकरण नसोधिएको अवस्थामा स्पष्टीकरण सोधिएको, बैठकमा अनुपस्थित भएको, पार्टी फुटाउन खोजेको जस्ता आरोपसहितका नक्कली कागजपत्र तयार गरेर संसद सचिवालयमा पेश गरियो । तीन पटकसम्म संसद् सचिवालयमा पठाइएको कारबाहीको पत्रलाई विधि, प्रक्रिया नपुगेको र गोमालाभले जनमत संसदीय दलको ह्विप उलंघन नगरेको ठहरसहित सभामुख देवराज घिमिरेले सीकेको मागअनुसार सूचना टाँस गरेनन् । 

पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर पदबाट हटाउनुपर्ने जनमतको माग थियो । जनमतले गोमा लाभलाई हटाउन मागसहित पहिलोपटक २०८० फागुन २७ गते, दोस्रोपटक २०८० चैत १ गते, तेस्रोपटक २०८१ भदौ २७ गते सभामुखसमक्ष निवेदन दियो । तीनैपटक सभामुखले सांसदबाट हटाउने कारबाहीको निर्णय नगरेपछि चौथोपटक कात्तिक २७ गते सीकै आफैं कारबाहीको पत्र बोकेर सभामुख घिमिरेकहाँ पुगे । गोमा लाभलाई यसअघि नै पार्टीबाट निकालिसकेको पत्र पठाइसकेका उनले कात्तिक २७ मा सभामुखलाई सूचना टाँस्न दबाब दिए । तर सभामुखले गोमा लभाबाट दलको नियम उल्लंघन गरेको कुनै प्रमाण नपुगेकाले कारबाही अघि नबढ्ने जवाफ दिए ।

त्यसदिन सीके र सभामुखबीच गोमा लाभको प्रसंगमा भनाभन नै चल्यो । सभामुखसँग बाझेर बाहिरिएको भोलिपल्ट कात्तिक २८ मा सीकेले अर्को पत्र संसद् सचिवालयमा दर्ता गराए । तर त्यस पत्रलाई पनि सभामुखले इन्कार गरिदिए । सभामुखको सचिवालयका अनुसार गोमालाई सोधिएको स्पष्टीकरण पत्रसमेत आफूखुसी बनाइएको, गोमाले दलको ह्वीप उल्लंघन गरेकोसहित ठोस प्रमाण पनि नभएको अवस्थामा समानुपातिक सूचीका अन्य उम्मेदवारलाई संसद्मा लैजान उनलाई हटाउन खोजिएको हो । 

बरु जनमतले सभामुखमाथि गोमा लाभ उनका नाना भएकाले नै हटाउन नचाहेको आरोपसमेत लगायो । १७ मंसिरमा विज्ञप्ति निकालेर जनमत प्रवक्ता शरदसिंह यादवले सभामुख देवराज घिमिरेको राजीनामा नै मागे । अध्यक्ष राउतसँग चर्काचर्की भएको अवस्थामा यादवले घिमिरेलाई दलको कार्यकर्ता बनेकोसमेत विज्ञप्तिमै उल्लेख गरे । जनमतले सभामुखलाई जाति, धर्म र भूगोलका आधारमा विभेद गरेको संगीन आरोपसमेत लगायो । 

त्यसको प्रतिवादमा सभामुखको सचिवालयले संसद्मा कुनै भाषा, भेष भूषाको प्रयोगका सवालमा भेदभाव गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको’ जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक रहेको उल्लेख ग¥यो । जनमतले सभामुख, सांसद र संसद् सचिवालयप्रति प्रयोग गरेको भाषा र शब्द गैरजिम्मेवार र धम्कीपूर्ण रहेको पनि सभामुखका प्रेस सल्हाकार शेखर अधिकारीले उल्लेख गरे ।

जनमत प्रवक्ता शरदसिंह यादव भने गोमा लाम पार्टी काममा नलागेको, महोत्तरीमा आर्थिक हिनामिना गरेको आरोप लगाउँछन् । महोत्तरीका निर्माण व्यवसायीसँग चन्द असुलेको कुरा पनि आएको उनले बताए । तर त्यही कुरा जनमतले संसद् सचिवालयमा पेश गरेको दस्तावेजले पुष्टि गर्न सक्दैन । 

यादवको तर्कअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ अनुसार गोमा लाभलाई पार्टीको साधारण सदस्यबाट हटाएका अब सभामुखले सांसद पद गएको सूचना टाँस्नुपर्ने जिकिर गर्छन् । जनमतको तर्क कस्तो छ भने यसअघि राष्ट्रि स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको जस्तै गोमा लाभको पनि पद जानुपर्छ । तर गोमा लाभले जनमत संसदीय दलले तोकेका कुनै पनि निर्देशन उल्लंघन गरेको पुष्टि सीकेले गर्न सकेका छैनन् । गोमा लाभ आफैं पनि जनमत संसदीय दलका हरेक बैठकमा थाहा पाएसम्म पुगिरहेको बताउँछिन् । पार्टी बैठकमा पनि उनी गइरहेकी छन् । त्यहीकारण जनमतले उनलाई हटाउन नक्कली कागजपत्र बनाएर सभामुखकहाँ पुर्‍याएको छ । 

गोमा लाभले गरेको एउटै गल्ती भनेको पार्टीले तोकेका स्वीकय सचिव अशोक साहलाई नराखी अर्कैलाई राख्नु । उनले स्वकीय सचिवमा मनीषाकुमारी झालाई राखेदेखि सीके रुष्ट भएका हुन्। आफूले खटाएका स्वकीय सचिव साहलाई फिर्ता गरेर मनिषालाई राखेको रिस सीकेले गोमा लाभमाथि पोखिरहेका छन् । तर, आफूखुसी सांसद पद पनि खोस्न खोजेपछि त्यसमा संसद् सचिवालय र सभामुख घिमिरे तगारो बनिदिएका छन् । 

उता गोमा लाभ आफूले गर्दै नगरेको गल्तीको सजाय नभोग्ने बताउँछिन् । केही गल्ती नगरेको अवस्थामा आफूमाथि पटकपटक झूटो आरोप लगाइएको उनको गुनासो छ । आरोप पुष्टि गरेमा कारबाही भोग्न तयार रहेको उनले बताउँदै आएकी छन् । उनले यसबारे सार्वजनिक रूपमा कुनै वक्तव्य निकालेकी छैनन् तर सञ्चारमाध्यमसँगको संवादमा उनले गल्ती गरेको पुष्टि भए शुरुमै पदबाट हटिसक्ने बताउँछिन् । गल्ती नगरेकै कारण जनमतले चार पटक पठाउँदा पनि सभामुखले कारबाही अघि नबढाएको उनको तर्क छ । 

गोमा लाभ सांसद पद पाउनकै लागि जनमतमा भित्रिएकी भने होइनन् । उनी जनमत पहिलेदेखि नै सक्रिय थिइन् । उनी २०७९ मंसिरको चुनावअघि नै जनमत महोत्तरी जिल्ला महिला संघकी अध्यक्ष भइसकेकी थिइन् । २०७९ वैशाखमै गोमा लाभले सीकेकै आशीर्वादमा उनले महोत्तरी गाउँपालिका उपाध्यक्ष पदमा स्थानीय तह चुनाव लडिन् तर जित्न सकिनन् । स्थानीय तह निर्वाचनमा हारेकी उनलाई जनमतले खसआर्य समूहबाट समानुपातिक सूचीमा राखेको थियो । प्रत्यक्षबाट १ सिट जितेको जनमतले अनपेक्षित नतिजासहित राष्ट्रिय दलको हैसियता बनाउँदा समानुपातिकबाट ५ सिट थप्यो । त्यही ५ सिटमा खसआर्यबाट सांसद बनेकी गोमा लाभलाई हटाउन सीकेले अहिले सबै किसिमको बल प्रयोग गरेका हुन् । 

टिप्पणीहरू