मेयरले हाकिमको खोस्ने,उपमेयरले पोस्ने
जनताको काम नगरेको आरोपमा मेयरले सवारी साधन जफत गरिदिएपछि चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले उपमेयरको गाडी प्रयोग गर्न थालेको बुझिन्छ । ‘काम नगर्नेलाई किन गाडी दिने ?’ भन्दै नगरप्रमुख समशेर लामाले केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारी साधनको चाबी थुतेर राखेको अवस्थामा उपमेयर देवेन्द्र लामाले आफू चढ्ने गाडी हाकिमलाई उपलब्ध गराइदिएका हुन् ।
‘हाकिमले ड्राइभरलाई बोलाउँदा चाबी मेयर सापले राखेको भन्ने कुरा आयो । लोकल गाडीमा आइराख्नु भा"थ्यो दुई दिन’, उपमेयर लामाले भने, ‘नगरपालिकालाई त चलाउनुपर्यो, हाकिम भएन भने शून्य हुन्छ । कामहरु सबै रोकिन्छ । त्यो कारणले बरु मेरो आफ्नो गाडी लगेर जानुस् भनेर मैले छोडदिएको । बरु म मोटरसाईकलमा हिँडौंला ।’
नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित मेयर समशेर लामा पालिकामा एमाले र कांग्रेसी प्रतिनिधिहरुको चर्काे खेदाइमा परिरहेको अवस्थामा पछिल्लोपटक सत्ता गठबन्धन बदलिएसँगै एमाले सरकारका मन्त्रीले राप्तीकै कर्मचारीमध्येबाट शिवकुमारलाई हाकिमको रुपमा खडा गरिदिएको बताइन्छ । आफूलाई विवादित बनाउन र कार्यसम्पादनमा बाधा पुर्याउन राप्तीमा अरु सात जना सिनियर कर्मचारी हुँदाहुँदै कम्प्युटर अपरेटर समूहका छैठौं तहका कर्मचारीलाई मन्त्रालयले हाकिमको जिम्मा लगाएको मेयर बताउँछन् ।
खासगरी गत वर्षको भुक्तानीको विषयमा यसअघिका हाकिमले सम्झौता गरेको, कार्यान्वयन पनि भइरहेको, नगरसभाले पनि भुक्तानी दिनु भनेर निर्णय गरेकोमा शिवकुमार सहज नभइदिएको बुझिन आएको छ ।
‘म त संघले पठाएको कर्मचारी हुँ, मन्त्रीले भनेकोमात्र मान्छु’ भनेर अभिव्यक्ति दिने, कार्यालयमा नबस्ने, जनताको कामको भुक्तानी गर्न नमान्ने, कमिशन लिने कामको मात्रै भुक्तानी दिने,कुनै पनि योजना सम्झौताको काम नगर्ने, सेवाग्राही आएमा काम हुँदैन भनी थर्काएर पठाउने, अन्य कर्मचारी जाने तालिममा भत्ता र झोलको लोभले आफैं जाने, नगरपालिकाको फोन बन्द गरेर बस्ने गरेको आरोप सामाजिक सञ्जालमै छरपष्ट पार्दै मेयर लामाले उनको सवारी साधन जफत गरिदिएको प्रस्ट्याएका छन् । उनले एक दस्तखत गर्ने बित्तिकै नगरमा दमकल आउने अवस्था भएपनि दस्तखत गर्न नमानेको, जनताको काम गर्ने मेसिन बिग्रेर बनाउन दिएको अवस्थामासमेत उनले फोन गरेर नबनाउन भनेको गम्भीर आरोप शिवकुमारमाथि छ ।
गत बिहीबारै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राप्ती नगर कमिटीले पनि विज्ञप्ति निकालेर प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार र अनैतिक व्यवहारले नगरपालिकाको गरिमा, सेवाग्राहीको विश्वास र नगरवासीको सेवामा गम्भीर प्रभाव परेको जनाएको छ ।
आज दिउँसो प्रमुख प्रशासकीय अधिकृत पौडेललाई नै फोन सम्पर्क गरी बुझ्न उनको ९८५५०४३१११ नं. मा फोन गर्दा उताबाट ‘प्लिज टेक्स्ट मि’ भनियो । यताबाट रिपोर्टिङको लागि कुरा गर्न खोजिएको लेखेर पठाएपछि झन् जतिपटक गर्दापनि फोन लागेन भने अघि साँझ बल्लबल्ल लागेको फोन पनि उठेन । शिवकुमारमाथि नगरपालिकाको सम्पर्क फोन बन्द गरी जिम्मेवारीबाट पन्छिने गरेको आरोप नेकपा एकीकृत समाजवादीले समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
टिप्पणीहरू