सुविधासम्पन्न कालिका नगर अस्पताल
चितवनको कालिका नगरपालिकाद्धारा सञ्चालित नगर अस्पतालमा बिरामीको प्रभावकारी उपचारका निम्ति प्रविधिको विस्तार गरिएको छ । अस्पतालबाट प्रवाह हुँदै आएको सेवालाई थप गुणस्तरीय बनाउन प्रविधिको प्रयोग गरिएको जनाइएको छ ।
नगर प्रमुख विनोद रेग्मीले अस्पताल प्रयोगशालामा ल्याइएको अत्याधुनिक मेशिन र टोकन प्रणालीको उद्घाटन गरिसकेका छन् । अस्पतालमा थाइराइड, भिटामिन डी, सी र क्यान्सर समेत परीक्षण गर्ने मेशिन प्रयोगमा ल्याइएको उनले जानकारी दिए । प्रयोगशाला सञ्चालनमा ल्याएसँगै नगरबासीलाई उपचारकै निम्ति भरतपुर पुग्नुपर्ने बाध्यता लगभग अन्त्य भएको उनको ठहर छ । मेयरले भने, ‘कालिकाबासीलाई स्वस्थ राख्नका लागि आवश्यक उपचार सेवा दिन नगरपालिका तयार छ । यसका लागि हामी जे पनि गछौं । सोहीअनुरुप हामीले प्रारम्भिक चरणमा नगर अस्पतालमा प्रविधिको विस्तार गरेका हौं । यसले नगरबासी उपचारका निम्ति भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।’
नगर प्रमुख रेग्मीले अस्पतालको सेवालाई थप विस्तार गर्दै व्यवस्थित बनाउने पनि बताए । त्यस्तै, अस्पतालमा टोकन प्रणालीको पनि सुरुवात गरिएको जनाउँदै उनले थपे, ‘यसबाट सेवाको निम्ति लाइन बस्नुपर्ने, भनसुन गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने विश्वास लिएका छौं ।’
पछिल्लो समय थाइराइड समस्या जटिल बन्दै गएको तर उपचारका लागि बाहिर जानुपर्ने अवस्था रहेकाले नगर अस्पतालमै थाइराइड मेशिन जडान गरिएको उनले बताए । नगर अस्पतालको सेवालाई समयानुकूल बनाउँदै लैजाने र अस्पतालमै जटिल रोगको उपचार हुने व्यवस्था गर्ने प्रतिबद्धता समेत उनको छ ।
विशेषज्ञ डाक्टरहरुको संख्या बढाउँदै नगरबासीहरु उपचारका लागि जिल्लाका अन्य अस्पतालमा जान नपर्ने गरी सेवा सुधार गर्ने उनको भनाइ छ । सरकारले २०७६ सालमा जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल निर्माण गरेको थियो । अस्पतालले सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
दैनिक तीनदेखि चार सय बढी बिरामीको अस्पतालमा उपचार हुँदै आएकोमा आम नागरिकको सहजताका निम्ति टोकन प्रणाली र प्रयोगशाला विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।
टिप्पणीहरू