दुर्गा प्रसाईंलाई छोड्न आदेश

दुर्गा प्रसाईंलाई छोड्न आदेश
सुन्नुहोस्

एउटा कसूरमा छुटकारा पाएलगत्तै पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमुक्त हुने भएका छन् । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै प्रसाईंका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्तको आदेश गरेको छ । 

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले धरौटी वा तारेखमा राखेर अनुसन्धान गर्न भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशपछि ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै आपराधिक लाभसम्बन्धी अर्को कसूरमा पक्राउ परेका थिए । 

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर पुस २ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । 

पुस ३ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ र बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । आज अदालतमा उपस्थित गराइएका उनलाई थुनामुक्त गर्न आदेश भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । 

‘उनलाई थुनामुक्त गर्न आदेश भएको छ । थप अनुसन्धान गर्नुपरेमा धरौटी, तारिख वा जमानीमा राखेर गर्न भनिएको छ’,उनले भने ।

टिप्पणीहरू