सिफारिस अलपत्रपछि उन्मुक्तिबाट वञ्चित कैदीबन्दी
सवारी ज्यान मुद्दामा २०७९ फागुनदेखि चितवन कारागारमा रहेका भरतपुर–१९ का ४४ वर्षीय दिलप्रसाद गुरुङ अझै जेलमै छन् । यस वर्ष कैद कैट्टाको सिफारिस पाएर पनि उनी अहिलेसम्म रिहा हुन पाएका छैनन् । अब त कैद अवधि नै पूरा हुन लागिसक्यो, आउँदो माघमा उनी आफैं छुट्दैछन् ।
सवारी ज्यान सवारी अंगभंग मुद्दामा २०७८ माघदेखि २०८२ माघसम्म कैद सजाय तोकिएका हुप्सेकोट–४ नवलपरासी बर्दघाट सुस्तापूर्वका ५१ वर्षीय नरसिं कानु मगर पनि कारागार कार्यालय भरतपुरबाट यसैगरी छुट्नेवालामा छन् । ५० प्रतिशत कैद भुक्तान भइसकेपछि कारागार प्रशासनले पीडितकी छोरी र घाइतेहरुको पनि सहमति लिएर बाँकी कैद मिनाहाको लागि सिफारिस गरेकोमा उनीपनि स्वतन्त्र हुन पाएका छैनन् ।
चितवनबाट कर्तव्य ज्यान मुद्दामा २०७४ भदौदेखि २०८४ भदौसम्म कैद अवधि तोकिएका भरतपुर–१५ का २५ वर्षीय आशिष दराई पनि यसपालि कैद कट्टाको सिफारिसमा छन् । कारागारमा असल चालचलन देखिएकोे कारण मृतकका श्रीमान र छोराको सहमति लिएर उनको कैद मिनाहाको लागि सिफारिस गरिएको चितवन कारागार प्रशासक कमलप्रसाद आचार्य बताउँछन् । नकबजनी चोरी मुद्दामा २०७९ फागुनदेखि २०८२ फागुनसम्मका लागि काराबासमा सजाय खेपिरहेका चितवनकै राप्ती–२ का ३५ वर्षीय सोमबहादुर परियार र राप्ती–३ का २८ वर्षीय सुमन प्रजाको पनि ५१.१४ प्रतिशत कैद भुक्तान भएपछि बाँकी कैद मिनाहाको लागि सिफारिस गरी पठाइएको थियो ।
भरतपुर–३ का ३५ वर्षीय विकल बानियाँ क्षेत्री, जो डाँका मुद्दामा २०७७ माघदेखि २०८४ माघसम्मका लागि थुनिएका हुन् । ५१.२७ प्रतिशत कैद भुक्तान भएपछि उनको पनि बाँकी कैद माफ हुँदै थियो । चोरी मुद्दामा थुनिएका भरतपुर–१६ का २४ वर्षीय संकल्प पनेरु पनि समयअगावै छुट्नेवालामा छन् । सरकारी लिखत कीर्ते मुद्दामा चितवन कारागारमै रहेका पोखरा–२६ का २८ वर्षीय सरोज सुनारलाई तोकिएको कैदअवधिभन्दा लगभग एक वर्ष अगावै छुट्नेगरी सिफारिस भएको थियो । बहुविवाह मुद्दामा चितवन कारागारमा रहेका विनयी त्रिवेणी गाउँपालिका–२, नवलपुरका ३४ वर्षीय रामप्रसाद पौडेलको त अब कैदअवधि नै पूरा हुन लागिसक्यो । ७१.३९ प्रतिशत कैद भुक्तान भएपछि मिनाहाको सिफारिस पाएका उनको यही पुष २० गते कैद अवधि नै पूरा भएर छुट्ने दिन आउँदैछ । बहुविवाह मुद्दामै २०८१ माघ २५ सम्म ११ महिना ८ दिनको लागि कैदमा परेका भरतपुर–६ का कृपेश विकलाई पनि चितवन कारागारबाट बाँकी कैद मिनाहाको लागि सिफारिस गरिएको छ ।
खोटा मुद्रा चलानमा २०८२ मंसिरसम्म दुई वर्ष छ महिनाको लागि भरतपुरमा थुनिएका भारतको भिड जिल्ला इन्गोसा रायपुर निवासी ४८ वर्षीय करतार सिंहको पनि अहिले कैद मिनाहाको लागि सिफारिस गरी पठाइएको छ । विद्युतीय तार प्रयोग गरी भाले गैंडा मारेको कसुरमा चितवनमा २०७६ देखि छवर्षका लागि कैदसजाय भोगिरहेका कावासोती–१०, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ६२ वर्षीय मोहनलाल पन्थीको पनि यसपालि कैदकट्टाको लागि नाम गएको छ ।
यसैगरी, गैंडामारी खाग बिक्री व्यवसाय मुद्दामा २०७० देखि १३ वर्षका लागि थुनिएका कालिका नगरपालिका–९ का भालु एवम् कान्छा प्रजा भन्ने ४७ वर्षीय दलबहादुर प्रजा पनि बाँकी कैद मिनाहा भएर अहिले छुटनेवाला हुन् । गैंडामारी माग बिक्री व्यवसाय मुद्दामा २०६७ पुषदेखि १५ वर्षका लागि थुनिएका चितवन राप्ती–३ का लालबहादुर राई भन्ने ६० वर्षीय सूर्यबहादुर राई र राप्ती–३ कै ६४ वर्षीय तुलबहादुर राईको पनि अहिले कैद मिनाहा हुने भनिएको हो । गैंडा मारी खाग बिक्री व्यवसाय मुद्दामै २०७० देखि १५ वर्षका लागि कैद सजाय भोगिरहेका मध्यविन्दु–१२ (नवलपरासी बसूपू) का ४७ वर्षीय सिताबहादुर ढेंगा मगरको पनि २६.३९ प्रतिशत कैद छोट्याउन सिफारिस भएकोमा उनी पनि जेलमै छन् ।
सवारी अंगभंग मुद्दामा २०७९ मंसिरदेखि तीन वर्षका लागि कैदसजायमा परेका भरतपुर–११ का ३९ वर्षीय किशोरकुमार सिलवाल, सवारी ज्यान मुद्दामा २०७९ फागनुदेखि तीनवर्षकै लागि थुनिएका भरतपुर–२८ का ४० वर्षीय हरिप्रसाद काफ्ले, सवारी ज्यान सवारी अंगभंग मुद्दामा २०७९ साउनदेखि चार वर्षको कैद सजाय पाएका भारत, हरियाणा प्रदेशका २२ वर्षीय अब्बास खान, सवारी ज्यान मुद्दामा २०८२ फागुनसम्मका लागि तीन वर्षको काराबास भोगिरहेका गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का ४५ वर्षीय चेतनारायण श्रेष्ठ, सवारी ज्यान मुद्दामै २०८३ जेठसम्म तीनवर्ष छमहिनाको लागि थुनिएका गोरखाकै गण्डकी गाउँपालिका–७ का २३ वर्षीय साजन भुजेल, झुटोे विवरण दिई दोहोरो नागरिकता लिएको मुद्दामा २०८० असोजदेखि साढे एक वर्षका लागि थुनिएका भरतपुर–१० का ५६ वर्षीय अशोककुमार पौडेल पनि यो वर्ष कैदमिनाहाको सिफारिसमा परेर छुट्न पाएका छैनन् ।
उनीहरु सबैजनाको कारागारमा देखिएको असल चालचलनको कारण ५० प्रतिशत कैद भुक्तान भइसकेपछि बाँकी कैद कट्टाको लागि सिफारिस गरिएको हो ।
तीसँगै २०७५ अघिदेखि नै काराबासमा रहेका र उतिबेलाकै नियमबमोजिम ४० प्रतिशत कैद भुक्तानपछि कैदकट्टाको सिफारिसमा परेकाहरु पनि छुट्न पाएका छैनन् । कर्तव्य ज्यान मुद्दामा २० वर्षका लागि भनेर २०७२ देखि थुनिएका बागलुङ –११ का २७ वर्षीय विजय रेग्मी, कर्तव्य ज्यान मुद्दामै २०७२ देखि २० वर्षको लागि थुनामा रहेकी भरतपुर–११ की ४९ वर्षीया इन्द्रादेवी शर्मा रेग्मीको पनि अहिले कैद मिनाहाको लागि सिफारिस भएको त छ । कर्तव्य ज्यान मुद्दामै बकैया गाउँपालिका–५ मकवानपुरकी ३४ वर्षीया रमिला माझीलाई पनि २० वर्षको सजाय तोकिएकोमा ८ वर्ष ९ महिनापछि छोड्न सिफारिस गएको छ । कर्तव्य ज्यान मुद्दामा २०७४ देखि १५ वर्षको लागि थुनामा परेका भरतपुर–२ का ३२ वर्षीय किर्तन राजभण्डारी पनि ६ वर्ष ६ महिना ५ दिनको कैद भुक्तानीपछि कैदकट्टाको सिफारिसमा परेका छन् ।
कारागार व्यवस्थापन विभागले गत भदौ १६ गते सार्वजनिक सूचना प्रकाशित गरी कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सात दिनभित्र दर्ता गर्न भनेको थियो । चितवनबाट सिफारिस गएका कसैको पनि उजुरी नपरेको कारागार प्रशासक बताउँछन् । चितवन कारागारबाट उल्लेखित व्यक्तिहरुसमेत देशभरका कारागार र बालसुधार गृहबाटसमेत गरी ज्येष्ठ नागरिकसहित कैद कट्टाको लागि चारसय ९२ जनाको नाम भदौमा सार्वजनिक गरिएको थियो ।
त्यसअघि असार ९ गते पनि कारागार व्यवस्थापन विभागले देशभरबाट अन्य ६२० जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सार्वजनिक सूचना प्रकाशित गरेकोमा चितवनबाट २०७५ भदौयताका (५० प्रतिशत कैद भुक्तान भइसकेपछि) २९ जना र त्यसअघिका (४० प्रतिशत कैद भुक्तान भएपछि) तीनजना गरी ३२ जनाको नाम सिफारिस भएको छ ।
यसरी असल चालचलनको कारण देखाउँदै कतिपय पीडितकोसमेत सहमति लिएर यसवर्ष कैद कट्टाका लागि देशभरबाट एकहजार एकसय १२ जना कैदीबन्दीको नाम गएपनि सिफारिसबमोजिम छुट्न नपाएका हुन् । तीमध्ये २–३ जना भने बरु कैदअवधि नै सकिएर छुटेको बताइन्छ । सामान्यतयाः कैदकट्टाको सिफारिसमा परेकाहरुलाई गणतन्त्र दिवस, संविधान दिवस जस्ता राष्ट्रिय उत्सवका अवसरमा राष्ट्रपतिबाट कैदमाफ गर्ने चलन छ । कारागार व्यवस्थापन विभागबाट सिफारिस गरी पठाइएको फाइल गृह मन्त्रालयमै अड्किएपछि यस वर्ष कैद मिनाहाको सिफारिस पाएका कोही पनि छुट्न नपाएको बताइन्छ ।
उनीहरु अब कहिले छुट्ने, नछुट्नेबारे जिज्ञासा राख्दा चितवन कारागारका प्रमुख प्रशासक कमल आचार्य भन्छन्, ‘सरकारको पोलिसी हो, हामी के भन्न सक्छौं र ?’ सरकारले चाह्यो भने उनीहरु आगामी फागुन ७ गते प्रजातन्त्र दिवसमा पनि रिहा हुनसक्ने सम्भावना रहेको उनले बताए । पेरोलमा चाहिँ यसवर्ष चितवन कारागारबाट अहिलेसम्म २० जनालाई छोडिएको जानकारी उनले दिए ।
टिप्पणीहरू